जरिवाना नतिर्ने ६ दलको दर्ता खारेज
काठमाडौं : निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाउने ६ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को प्रावधान अनुसार आयोगले बुधबार ती दलहरूको दर्ता खारेजी गरेको हो।
आयोगद्वारा जारी विज्ञप्तिअनुसार पुस ८ गते बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिमको जरिवाना नबुझाउने दलहरूलाई सोही ऐनको दफा १२ बमोजिम खारेज गर्ने निर्णय गरेको हो।
दर्ता खारेज भएका दलहरूमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपाल रहेका छन्।
आयोगका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार, कानुन बमोजिम बुझाउनुपर्ने जरिवाना निर्धारित समयभित्र नबुझाएका कारण ती दलहरूको दर्ता खारेजीको निर्णय लिइएको हो। दर्ता खारेजीसँगै अब ती दलहरूले राजनीतिक दलका रूपमा प्राप्त गर्ने कानुनी हैसियत गुमाएका छन्।
पुष ९, २०८२ बुधबार २०:१५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।