सिन्धुलीमा पेट्रोल छर्केर बुहारीको हत्या, सासू र नन्द पक्राउ
सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-४, धुराबजारमा पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको आरोपमा प्रहरीले सासू र नन्दलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) रहेका छन्।
गत आइतबार दिउँसो करिब ४:३० बजे घरको भान्सा कोठामा ३२ वर्षीया सुशीला बम्जनमाथि पेट्रोल छर्केर आगो लगाइएको थियो।
आगलागीबाट सुशीलाको घटनास्थलमै मृत्यु भयो भने आगो निभाउने क्रममा ससुरा दुर्गामान बम्जन घाइते भएका छन्। उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।
सुरुमा आगलागीको खबर पाएको प्रहरीले घटनास्थलको प्रकृति शंकास्पद देखेपछि अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले घटनास्थलबाट पेट्रोलका बोतल, लाइटर र आगो लगाउन प्रयोग गरिएको कपडा बेरिएको बाँसको भाटा बरामद गरेको छ।
प्रहरी उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार प्रारम्भिक सोधपुछमा नन्द मीना लामाले सुशीलामाथि पेट्रोल छर्केर आगो लगाएको स्वीकार गरेकी छन्।
मृतकका बुबा प्रेमबहादुर घिसिङले सोमबार (पुस ७ गते) दिएको किटानी जाहेरीका आधारमा प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ।
जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पुष ९, २०८२ बुधबार १२:५५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।