लिस्ट ‘ए’ क्रिकेटमा शतक बनाउँदै वैभबले बनाएर विश्व कीर्तिमान, बनाएर ८४ बलमा १९० रन
एजेन्सी : भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले १४ वर्ष २७२ दिनको उमेरमा विश्व कीर्तिमान कायम गरेका छन्।
जारी २०२५-२६ को विजय हजारे ट्रफीको पहिलो दिन उनले पुरुष लिस्ट ‘ए’ क्रिकेटमा शतक प्रहार गर्दै शतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।
राँचीमा अरुणाचल प्रदेशविरुद्ध बिहारका लागि खेल्दै सूर्यवंशीले मात्र ३६ बलमा आफ्नो शतक पूरा गरे। जारी खेलमा उनले ८४ बलमा १९० रन बनाए।
सिनियर क्रिकेटमा (टी-२० बाहेक) यो उनको पहिलो शतक हो भने उनको करियरको यो सातौं लिस्ट ‘ए’ खेल मात्र हो।
१३ वर्षको उमेरमा आईपीएल अक्सनमा छानिएर कीर्तिमान बनाएका उनले राजस्थान रोयल्सबाट खेल्दै गुजरात टाइटन्सविरुद्ध शतक (३८ बलमा १०१ रन) प्रहार गरी आईपीएलकै कान्छो शतकधारी बनेका थिए।

केही समयअघि मात्र सैयद मुश्ताक अली ट्रफीमा पनि उनले महाराष्ट्रविरुद्ध अविजित १०८ रन बनाउँदै सो प्रतियोगिताको सबैभन्दा कान्छो शतकधारी बनेका थिए।
उनले हालै युएईमा भएको अन्डर-१९ एसिया कपमा १७१ रनको शानदार पारी खेलेका थिए भने दोहामा भएको राइजिङ स्टार्स एसिया कपमा युएईविरुद्ध ३२ बलमै शतक पूरा गरेका थिए।
वैभव अब जिम्बाब्वे र नामिबियामा जनवरी १५ देखि सुरु हुने अन्डर-१९ विश्वकपका लागि भारतीय टोलीमा सामेल हुनेछन्।
त्यसअघि बेंगलुरुमा हुने क्याम्पमा सहभागी हुनुपर्ने भएकाले विजय हजारे ट्रफीका सुरुवाती केही खेलमा मात्र उनी उपलब्ध हुनेछन्।
पुष ९, २०८२ बुधबार ११:२२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।