आजको मौसम : पहाडमा घाम लाग्ने, तराईमा दिनभर हुस्सु र कुहिरोको सम्भावना
काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी र तराईको मौसममा भिन्नता देखिनेछ।
आज तराईका अधिकांश भू-भागमा हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा मध्यान्हसम्म कुहिरो लाग्ने सम्भावना छ।
तराईका बाँकी अन्य भू-भागमा भने दिनभरजसो नै कुहिरो लाग्न सक्ने विभागले जनाएको छ।
तराईमा धुम्म मौसम भए पनि पहाडी तथा हिमाली क्षेत्रमा भने आज मौसम मुख्यतया सफा रहनेछ। यी क्षेत्रहरूमा घाम लाग्ने सम्भावना छ।
आज राति पनि तराईका भू-भागमा हुस्सु लाग्ने क्रम जारी रहनेछ भने पहाडी तथा हिमाली भू-भागमा मौसम सफा नै रहने पूर्वानुमान गरिएको छ।
चिसो बढ्न सक्ने भएकाले तराई क्षेत्रमा यात्रा गर्दा वा बाहिर निस्कदा सतर्कता अपनाउन अनुरोध गरिन्छ।
पुष ९, २०८२ बुधबार ०९:२३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।