पाँडेलाई आफ्नै सहकर्मीको असहयोग, कवितामार्फत पोखे दुखेसो

पाँडेलाई आफ्नै सहकर्मीको असहयोग, कवितामार्फत पोखे दुखेसो

काठमाडौं : चलचित्र ‘झरीपछिको इन्द्रेणी’का निर्देशक तथा लेखक अर्जुन घिमिरे 'पाँडे'ले आफ्नै निकट सहकर्मीहरूबाट अपेक्षित सहयोग नपाएको चित्त दुखाइ मंगलबार बिहानै कवितामार्फत पोखे। 

सामाजिक सञ्जालमा घिमिरेले लेखेको कविताको सुरुवाती हरफमा भनेका छन्, ‘असहयोगले आवाज दबिँदैन, राजनीतिले सत्य बदलिँदैन।’ कविताको यस हरफमार्फत चलचित्रको प्रचारप्रसारमा आफ्नै साथीभाइहरूले साथ नदिएकोतर्फ संकेत उनले गरे। 

चलचित्र ‘झरीपछिको इन्द्रेणी’को प्रचारप्रसारमा उनका साथीहरूको उपस्थिति अहिलेसम्म देखिएको छैन। विशेषगरी हास्य टेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगोनी’मा लामो समय सहकार्य गरेका कुमार कट्टेल (जिग्री) र दीपक आचार्य (काकु) लगायतका कलाकारहरूले फिल्मको प्रवर्द्धनमा नसघाएपछि उनले कवितामार्फत गुनासो पोखे। 


विगतमा अरूका चलचित्रलाई सामाजिक सञ्जालमार्फत खुलेरै प्रचारप्रसारमा सहयोग गर्दै आएका उनले यतिबेला एक्लो महसुस गरिरहेको बुझिन्छ। घिमिरेले थप लेखेका छन्, ‘झरी रोक्न सकिन्छ होला, तर झरीपछिको इन्द्रेणी रोकिँदैन। हलमा जनता छन्, मनमा प्रश्न छन् र आशा अझै जिउँदै छ।’

गत शुक्रबारदेखि प्रदर्शनमा आएको यस चलचित्रले आज मंगलबार प्रदर्शनको पाँचौं दिन पूरा गरेको छ। फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला र प्रियना आचार्य लगायतको अभिनय रहेको छ। घिमिरेले फिल्म प्रदर्शनको क्रममा हल सञ्चालक र वितरकबाट समेत उचित सहयोग नपाएको गुनासो गरे।

सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘दर्शक हलसम्म आउँदा पनि शो नपाउनु अचम्मको कुरा हो। दर्शकले शोज नभएर फिल्म हेर्न पाउनुभएको छैन। वितरकले यो कुरामा ध्यान दिनुपर्ने थियो, तर उहाँहरूको उपस्थिति फिल्म चल्नुभन्दा अघिपछि देखिएन।’

यता चलचित्र 'लाज शरणम्'बाट निकालिएपछि सम्बन्धमा चिसोपन आएको भनिएका दीपक आचार्य र कुमार कट्टेलबीच नयाँ सहकार्यको चर्चा चल्दैछ। सोमबार बेलुका उनीहरूले ‘के पाक्दैछ होला ?’ भनेर तस्बिर सार्वजनिक गरेपछि नेपाली हास्य विधाका यी कलाकारबीचको आन्तरिक समीकरण फेरिएको अनुमान गरिएको छ।

कुमार कट्टेलले लेखेका छन्, ‘परानको अपार सफलतापछि निर्देशक दीपक आचार्य, सूत्र टिभीका सञ्चालक केशव खड्का साथमा डिस्ट्रीब्युटर रोहित कट्टेल बिच के पाक्दैछ होला ? म छेउमा बसेर सुन्दैछु।’ हस्य टेलिफिल्म 'सक्किगोनी'देखि फिल्म लाजशरणमसम्म आइपुग्दा एकसाथ रहेका घिमिरे र कट्टेलबीच पछिल्लो समय राम्रो नरहेको बुझिन्छ। कट्टेलेको झटारो घिमिरेतिर लक्षित रहेको आकलन पनि हुने गरेको छ। 

कट्टेलले आचार्यसँग अहिले सहकार्य गर्न थालेको उनको फिल्म परानले राम्रो हाइप बनाएपछि मात्र हो। यद्यपि सहकर्मीहरू बीचको समन्वय अभाव र फिल्म प्रदर्शनमा देखिएका प्राविधिक चुनौतीले निर्देशक घिमिरेलाई निराश बनाए पनि उनले दर्शकको मायाले आफूलाई अगाडि बढ्न ऊर्जा दिने विश्वास व्यक्त गरे। 

पुष ८, २०८२ मंगलबार २१:०९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।