नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा एसएसपी गिरी विरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा एसएसपी गिरी विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : नेपाल प्रहरी अस्पताल, महाराजगन्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक  लालबाबु गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गिरीले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि आयोगले मंगलबार आरोप पत्र दायर गरेको हो।

अख्तियारका अनुसार, गिरीले सन् १९८८ मा भारतको बिहार विद्यालय परीक्षा समिति पटनाबाट एसएलसी  उत्तीर्ण गरेको भनी नक्कली मार्कसिट पेस गरेका थिए।

अनुसन्धानका क्रममा उक्त बोर्डबाट प्राप्त अभिलेखमा अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको भेटिएको छ, जबकि गिरीको रोल कोड ५५०१ र रोल नम्बर ७१८ रहेको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ।

सोही नक्कली प्रमाणपत्रकै आधारमा गिरीले थप शैक्षिक योग्यता हासिल गरेको अनुसन्धानबाट खुलेको छ। उनले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा पिसिएल र २०६३ मा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङ गरे।

गिरीले यिनै नक्कली कागजात पेस गरी २०५२ पुस १६ गते नेपाल प्रहरीको प्राविधिक प्रहरी नायव निरीक्षक (सई) पदमा नियुक्ति लिएका थिए। सोही झुट्टा विवरणका आधारमा उनले हालको एसएसपी पदसम्म बढुवा पाएको र राज्यबाट विभिन्न तालिम तथा सुविधाहरू लिएको आयोगको ठहर छ।

यसकै आधारमा आयोगले गिरीको यो कार्य साबिक भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर भएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको हो।

पुष ८, २०८२ मंगलबार १९:१६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।