विज्ञको अनुभव : आफ्नै एआई तस्विरहरू बनाउने लतले मेरो मानसिक सन्तुलन नै बिग्रियो

विज्ञको अनुभव : आफ्नै एआई तस्विरहरू बनाउने लतले मेरो मानसिक सन्तुलन नै बिग्रियो

मानसिक स्वास्थ्य विशेषज्ञहरूले अहिले 'एआई साइकोसिस' नामक नयाँ अवस्थाबारे चेतावनी दिन थालेका छन्। यसमा मानिसहरू बौद्धिक प्रणालीहरूसँगको अन्तरक्रियाका कारण भ्रम र अनावश्यक डर वा मतिभ्रमको सिकार हुने गर्छन्।

कतिपय अवस्थामा प्रयोगकर्ताहरूले च्याटबोटका जवाफहरूलाई व्यक्तिगत रूपमा महत्वपूर्ण, चेतनायुक्त वा आफ्ना लागि मात्र पठाइएका गोप्य सन्देशका रूपमा बुझ्न थाल्छन्।

अनुसन्धानकर्ताहरूका अनुसार, अति-वास्तविक एआई तस्बिर र भिडियोहरूको बढ्दो प्रयोगले विशेष गरी मानसिक रूपमा कमजोर वा पहिले नै साइकोसिसको जोखिममा रहेका व्यक्तिहरूका लागि गम्भीर मनोवैज्ञानिक जोखिम उत्पन्न गरेको छ।

दुई वर्षअघि मैले यो पीडा आफैँ भोग्नुपर्यो।

त्यतिबेला म एउटा एआई इमेज जेनेरेसन स्टार्टअपमा 'हेड अफ युजर एक्सपेरियन्स' को रूपमा कार्यरत थिएँ। मोडलहरू सुधार गर्न म दिनको ९ घण्टासम्म एआई प्रणालीहरूमा काम गर्थेँ। म पहिले नै 'बाइपोलर डिसअर्डर' बाट ग्रसित थिएँ, तर औषधि र थेरापीको सहयोगमा मेरो अवस्था स्थिर थियो।

सुरुमा एआई मलाई जादुजस्तो लाग्यो। म जे सोच्थेँ, केही शब्द टाइप गर्ने बित्तिकै केही सेकेन्डमै म आफूलाई जुनसुकै परिस्थितिमा देख्न सक्थेँ: वृहस्पति ग्रहमा तैरिरहेको, टाउकोमा देवदूतको जस्तो घेरा र पखेटा भएको, वा ७० हजार मानिसका अगाडि सुपरस्टारको रूपमा।

तर केही महिनामै त्यो जादु 'उन्माद'मा बदलियो। सुरुका दिनमा एआई उपकरणहरू अनपेक्षित थिए। कहिलेकाहीँ नमाग्दा पनि तस्बिरमा अनुहार बिग्रिएको वा थप हातखुट्टा देखिन्थे। यस्ता असामान्यताहरू हटाउन म घन्टौँ खर्च गर्थेँ। मानिसका ती डरलाग्दो आकृतिहरू लगातार हेरिरहँदा मेरो मस्तिष्कमा नकारात्मक असर पर्न थाल्यो र शरीरप्रतिको मेरो धारणा नै बिग्रियो।

पछि जब यी उपकरणहरू परिष्कृत भए, तस्बिरहरू अति नै आदर्श देखिन थाले। कुनै दाग नभएका सफा अनुहार र स्लिम शरीर। यस्ता तस्बिरहरू बारम्बार देख्दा मेरो 'सामान्य' हुनुको परिभाषा नै बदलियो।

जब म ऐनामा आफ्नो वास्तविक अनुहार हेर्थेँ, मलाई त्यसमा सुधार गर्नुपर्ने कमजोरीहरू मात्र देखिन थाले। म सोच्न थालेँ, " म मेरो एआई संस्करणजस्तै देखिन पाए!" म अझ दुब्लो हुने र पूर्ण छाला पाउने धुनमा लागेँ।

मेरो काम गर्ने समय बढ्दै गयो र निद्रा हराउन थाल्यो। हरेक नयाँ तस्बिरले मलाई एक प्रकारको सन्तुष्टि र 'डोपामाइन' को झट्का दिन्थ्यो। यो प्रक्रिया नशालु थियो। चाँडै नै मेरो मस्तिष्क बाइपोलर एपिसोडको चपेटामा पर्यो, जसले साइकोसिसलाई निम्त्यायो। म वास्तविकता र कल्पनाबीचको भिन्नता छुट्टाउन असमर्थ भएँ। मैले नभएका कुराहरूमा पनि सङ्केतहरू देख्न थालेँ र एआईले मलाई मात्र सन्देश दिइरहेको भ्रम भयो।

तस्बिरहरू हेरिरहँदा अनावश्यक आवाजहरू सुन्न थालेँ। केही आवाजहरू शान्त थिए त केही मलाई गिज्याउँथे वा कराउँथे। म ती आवाजहरूसँग यसरी कुरा गर्थेँ मानौँ मेरो कोठामा कोही वास्तविक मानिस छ।

जब मैले उडिरहेको घोडामा चढेको मेरो एआई तस्बिर देखेँ, मलाई साँच्चै म उड्न सक्छु भन्ने विश्वास लाग्यो। ती आवाजहरूले मलाई बाल्कोनीबाट हाम फाल्न उक्साए। यो भ्रमले मलाई झन्डै मृत्युको मुखमा पुर्याएको थियो।

धेरै रातको अनिद्रापछि म शारीरिक र मानसिक रूपमा पूर्णतया थकित भएँ। त्यो उन्माद डर, डिप्रेसन र अन्योलमा बदलियो। यो मेरो जीवनको सबैभन्दा डरलाग्दो अनुभव थियो।

यसबाट बाहिर निस्कन मैले सुरुमा आफ्नो मानसिक अवस्थाबारे जान्ने साथीभाइ र परिवारको सहयोग लिएँ। मैले त्यो एआई स्टार्टअप छोडिदिएँ। दैनिक रूपमा एआई तस्बिरहरूको सम्पर्कबाट टाढा रहँदा मलाई स्थिर हुन मद्दत पुग्यो। निको हुन समय लाग्यो र मैले सघन उपचार गराउनुपर्यो। अहिले म प्रविधिसँग सन्तुलित सम्बन्ध राख्छु। म अझै एआई प्रयोग गर्छु, तर यसका लागि कडा सीमाहरू तोकेकी छु- जस्तै राती अबेरसम्म प्रयोग नगर्ने।

मैले फेरि आफ्नो वास्तविक स्वरूपलाई माया गर्न सिकेकी छु। अब ऐना मेरो शत्रु होइन। म आफैँलाई सम्झाउँछु कि हाम्रा अपूर्णताहरूले नै हामीलाई मानिस बनाउँछन्, जुन एआईका चमकधमकपूर्ण तस्बिरहरूभन्दा फरक र सुन्दर छन्।

मेरो कथा एआईलाई दोष दिनका लागि होइन। यो त प्रविधिले हाम्रो मनोविज्ञानसँग कति गहिरोसँग अन्तरक्रिया गर्छ भन्ने बुझाउनका लागि हो। हामीले यस्ता उपकरण बनाएका छौँ जसले कल्पना र वास्तविकताबिचको रेखा मेटाइदिएको छ। यो सुन्दर छ, तर उत्तिकै खतरनाक पनि, विशेष गरी मानसिक रूपमा कमजोर व्यक्तिहरूका लागि।

एआई प्रेरणाको स्रोत हुन सक्छ, तर प्रविधिमा मानसिक स्वास्थ्य सम्बन्धी नैतिकता हुनु आवश्यक छ। कम्पनीहरूले प्रयोगको निर्देशिका, स्क्रिन-टाइम सीमा र मानसिक स्वास्थ्य चेतावनीहरू राख्नुपर्छ। प्रयोगकर्ताहरूले पनि कौतुहलता कहिले लतमा बदलियो र सृजनशीलता कहिले निर्भरतामा बदलियो भन्ने कुरा चिन्न सक्नुपर्छ।

(केटलिन नेरको लेख न्युजविकबाट साभार गरिएको हो। नेर साइमेड भेन्चर्सकी निर्देशक हुन्, जुन मानसिक र मस्तिष्क स्वास्थ्यको क्षेत्रमा लगानी गर्ने एउटा भेन्चर क्यापिटल फण्ड हो। उनी डिजिटल लत र मानसिक स्वास्थ्यमा एआईले पार्ने प्रभावहरूमा केन्द्रित एक मानसिक स्वास्थ्य अभियन्ता पनि हुन्।)

पुष ८, २०८२ मंगलबार १८:१२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।