झरी पछिको इन्द्रेणी : बालेनको बुई चढेर फिल्मलाई वैतरणी तार्ने 'पाँडे'को दुस्साहस
मेयर बालेन शाहको टिममा रहेका कलाकारहरूले आफ्ना फिल्म चलाउन पटक-पटक उनलाई प्रचारको 'हतियार' बनाएका छन्। यस दौडमा निर्देशक तथा कलाकार अर्जुन घिमिरे (पाँडे) सबैभन्दा अगाडि देखिन्छन्। यसअघि फिल्म ‘लाज शरणम्’ मा बालेनको र्याप राखेर उनले पर्याप्त उपयोग गरेका थिए। तर यो समूहले अन्ततः 'बल्ड्याङ' खायो। फिल्म व्यावसायिक रूपमा असफल भयो भने समीक्षकहरूले पनि खासै रुचाएनन्।
पाँडेले बालेनसँगको मित्रतालाई व्यावसायिक लाभका लागि प्रयोग गर्ने क्रम रोकेनन्। नयाँ फिल्म ‘झरी पछिको इन्द्रेणी’ को निर्देशन गरेर उनले मुख्य प्रचारमा बालेनकै साथ खोजे। तर यसपटक पनि उनको प्रयास सफल भएन। बालेनले गाएको र्याप रुचाएका दर्शकले फिल्म रुचाएनन्।
यसमा बालेन कारक भने होइनन्। उनले त फिल्म रिलिजपछि पनि प्रचारमा साथ दिएकै हुन्। तर फिल्मको कमजोर संरचनाका कारण दर्शकले हलसम्म जाने जाँगर देखाएनन्। हलमा अन्य बलिया फिल्मको प्रतिस्पर्धाले पनि पाँडेको टिमले धक्का खायो यो पटक पनि।
कथासार
प्लस टु सके लगत्तै विदेश जान चाहने युवा र स्वदेशमै राख्न चाहने अभिभावकबीचको द्वन्द्व यो फिल्मको मुख्य कथा हो। फिल्मको कथा १२ कक्षा उत्तीर्ण गरेपछि भविष्यलाई लिएर अलमलमा परेका सोहन शर्मा (विमोचन दवाडी) को वरिपरि घुमेको छ। उनी अस्ट्रेलिया जान चाहन्छन्, तर परिवार सहमत छैन। उनको अभिभावक नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने पक्षमा छन्।
सोहनका बुबा गणेशप्रसाद शर्मा (गणेश उप्रेती) मार्फत निर्देशकले फिल्ममा इमान्दार कर्मचारीले कसरी दुख पाउँछन् भन्ने उपकथा पनि जोडेका छन्।गणेशलाई कान्तिपुर नगरपालिकाको वडा सचिवका रूपमा इमान्दार कर्मचारीको रूपमा प्रस्तुत गरिएको छ। वडाका बदमास कर्मचारीका रूपमा वडाध्यक्ष कृष्णभक्त महर्जन, लेखापाल राजाराम (रमेश उप्रेती) र कार्यालय सहयोगी नरे (अर्जुन घिमिरे) लाई देखाइएको छ।
एकातिर छोराको विदेश जाने ढिपी, अर्कोतिर कार्यालयका भ्रष्ट कर्मचारीको जालझेल। गणेश यो चक्रव्यूहबाट जोगिएलान् वा फस्लान्? सोहन अस्ट्रेलिया जालान् कि नेपालमै केही गर्लान्? फिल्मको मुख्य कथा यही नै हो।
सबल पक्ष
निर्देशक घिमिरेले फिल्ममार्फत विदेश जान चाहने युवा पुस्तालाई "सीप नभई विदेश जानु हुन्न, स्वदेशमै पनि केही गर्न सकिन्छ" भन्ने सकारात्मक सन्देश दिने प्रयास गरेका छन्। फिल्मको अन्त्यतिर पुग्दा यो सन्देशले दर्शकलाई केही हदसम्म प्रभावित पार्छ। सामान्य कथामा सस्पेन्स मिसाउने प्रयास पनि गरिएको छ भने केही संवादहरू मर्मस्पर्शी छन्।
दश वर्षपछि अभिनयमा फर्किएका गणेश उप्रेतीले आफ्नो भूमिकामा न्याय गरेका छन्। डेब्यु अभिनेता विमोचन दवाडीको प्रयास पनि सराहनीय छ। रमेश उप्रेती, प्रियना आचार्य (मुन्नी), निर्मल शर्मा र लक्षणा राईको अभिनय औसत छ। बालेन शाहको र्याप बाहेक अन्य गीतको कथासँग तादात्म्य देखिँदैन।
कमजोरी
फिल्मको सबैभन्दा ठूलो कमजोरी निर्देशक घिमिरेले टेलिफिल्म र फिचर फिल्मबीचको भिन्नता बुझ्न नसक्नु हो। उनले फिल्मको क्यानभासै बुझेनन् भन्ने फिल्मले नै पुष्टि गर्छ। आधा घण्टाको टेलिफिल्म अनि त्यही डेढ वा दुई घण्टाको बनाए फिल्म भन्ने हुन्न। यी दुवै दृश्य विधा भए पनि संरचना भने भिन्न हुन्छ भन्ने नै नबुझी उनले फिल्म निर्देशनको रहर गरेको देखियो।
कथा अनि पटकथा उस्तै छरिएको छ। फिल्मको गति अति सुस्तहुँदा पहिलो हाफसम्म दर्शकलाई हलमा टिकिरहन मुस्किल पर्छ। मुख्य कथाभन्दा सहायक उप-कथाहरू हाबी हुँदा फिल्मको लय समेत बिग्रिएको छ। दर्शकलाई हँसाउन राखिएका कतिपय दृश्यहरू टेलिफिल्म शैलीका लाग्छन्। बाबु-छोराका भावुक दृश्यहरूले दर्शकको मन छुन सक्दैनन्। एउटा गम्भीर दृश्यमा पात्रहरू रुँदा हलमा दर्शक हाँसिरहेका देखिन्छन्, जुन निर्देशकीय असफलता हो।
कलाकार छनोटमा पनि निर्देशक चुकेका छन्। विशेषगरी दीपाश्री निरौला र रमेश उप्रेतीको भूमिका र अभिनय फिल्मको कमजोर बनेको छ।
अन्त्यमा, सन्देश राम्रो भए पनि फितलो निर्देशनका कारण 'झरीपछिको इन्द्रेणी' ले दर्शकलाई इन्द्रेणीको चमक दिन सकेन, केवल झरी मात्र दियो। बालेनको नामले हल भरिने भ्रममा परेका निर्देशक घिमिरे यतिबेला रित्ता सिट हेरेर बालेनको र्याप सुन्न बाध्य भए। यसको कारक फिल्मको संरचनासम्म नबुझी निर्देशन गर्ने उनको दुस्साहसै हो।
पुष ८, २०८२ मंगलबार १६:४८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।