होटल सब्रिनालाई ५ तारे स्ट्याण्डर्डमा स्तरोन्नति गरिँदै : आइपिओ जारी गर्ने तयारी
काठमाडौं : होटल सब्रिनाको सातौं साधारण सभा सम्पन्न भएको छ। वरिष्ठ कलाकार निर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले पेस गरिएका सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
होटलले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। शेयर निष्कासनका लागि कम्पनीले गत असार अन्तिममा 'एनआईसी एसिया क्यापिटल'लाई बिक्री प्रबन्धक तथा संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरिसकेको छ।
१.५ अर्ब अधिकृत पुँजी र १.१२ अर्ब जारी पुँजी रहेको यस होटलको चुक्ता पुँजी ६४ करोड ९६ लाख रुपैयाँ रहेको छ। कम्पनीले न्यूनतम १५ लाख कित्ताको ४७ करोड ४ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको सभामा जानकारी गराइएको छ।
अपार्टमेन्टसहित ६० वटा कोठामा सेवा सञ्चालन रहेको होटलको अब सेवा विस्तार र स्तरोन्नति गर्न लागिएको अध्यक्ष निराजन थापाले जानकारी दिए। '१०४ वटा रुम र क्यासिनो बनाएर ५ तारे स्ट्याण्डर्डको प्रक्रियामा जाने तयारीमा छौं,' थापाले भने।
होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एसोसिएसन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो।
पुष ८, २०८२ मंगलबार १५:४१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।