‘बिगुल’ गीतको हरिबिजोग, २३ घण्टामा २४ हजार भ्यूज
काठमाडौं : फिल्मको प्रचारप्रसार र व्यावसायिक सफलतामा गीत-संगीतलाई एउटा बलियो खम्बा मानिन्छ। कतिपय फिल्मको व्यापारलाई उकास्न गीतले नै निर्णायक भूमिका खेलेका उदाहरणहरू छन्।
केही समयअघि प्रदर्शनमा आएको केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को सफलतामा यसको प्रमोसनल गीत ‘बुझिन मैले, बुझाई देऊ कसैले’को ठूलो योगदान रहेको थियो। दर्शकमाझ निकै रुचाएको यो गीतले फिल्मलाई व्यवसायीक रूपमा नसोचेको सफलता दिलायो।
तर, आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बिगुल’को हकमा भने गीतले दर्शकमाझ उत्साह जगाउन सकेको छैन। फिल्ममा समावेश ‘मरुभूमिमा पानी जस्तै’ बोलको गीत सार्वजनिक भएको २२ घण्टा बितिसक्दा पनि डिजिटल प्लेटफर्ममा दर्शकको ध्यान तान्न सकेको देखिँदैन। यो समाचार तयार पार्दासम्म युट्युबमा गीतलाई करिब २४ हजार पटक मात्र हेरिएको छ।
रमेश कोइरालाको निर्देशन रहेको ठूलो बजेटको फिल्ममा समावेश गीतले दर्शकमाझ चर्चा कमाउने गरिएको अपेक्षा पुरा गर्न सकेन। फिल्ममा पछिल्लो समयकी चर्चित अभिनेत्री बेनिशा हमाल र अभिनेता नरेन खड्काको अभिनय छ। राम्रो शब्द र संगीत रहेको गीतले युट्युबमा भ्यूज न्यून रहेपनि कमेन्ट बक्समा अधिकांशले गीत मन परेको प्रतिक्रिया दिएका छन्। समाचार तयार पार्दासम्म गीतमा ४ सय ९२ लाइक र ३९ जनाले कमेन्ट गरेका छन्।
एक साताअघि मात्रै ‘बिगुल’को टिजर रिलिज भएको थियो। एक सातामा टिजरलाई ३ लाख ८४ हजारले हेरेका छन्। जसमा १५ सय जनाले लाइक र १ सय ५० जनाले कमेन्ट गरेका छन्। जसबाट फिल्मप्रति दर्शकको चासो कतिको छ भन्ने मापन हुन्छ। तर, फिल्मको वास्तविक परीक्षा चाहिँ फिल्म रिलिज पछि हुनेछ।
तर निर्देशक रमेश कोइरालाले निर्माण गरेका यसअघिका फिल्म ‘नीर माया’ र ‘लीला’पनि बक्स अफिसमा गतिलो व्यापार गर्न सकेको थिएन। ‘नीर माया’दुई वर्षअघि रिलिज भएको थियो। अब‘बिगुल’ले हलसम्म दर्शकलाई कसरी आकर्षित गर्छ, त्यो भने फिल्म प्रदर्शनपछि नै स्पष्ट हुनेछ। फिल्मको संगीतले सुरुवाती चरणमा सुस्त प्रतिक्रिया पाए पनि फिल्मको समग्र विषयवस्तुले दर्शकको मन जित्न सक्छ वा सक्दैन भन्ने प्रतीक्षाको विषय बनेको छ।
पुष ८, २०८२ मंगलबार १४:५९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।