दिल्लीस्थित बंगलादेशको उच्चायोग बाहिर प्रदर्शन, सुरक्षा व्यवस्था कडा
एजेन्सी : बंगलादेशमा हिन्दु युवक दीपु चन्द्र दासको हत्या र हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधमा भारतको राजधानी दिल्लीमा प्रदर्शन भएको छ।
दिल्लीस्थित बंगलादेश उच्चायोग बाहिर विश्व हिन्दु परिषद् र अन्य हिन्दु संगठनहरूले मंगलबार विरोध प्रदर्शन गरेका हुन्।
समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार प्रदर्शनमा ठूलो संख्यामा मानिसहरूको सहभागिता रहेको छ। प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेर बंगलादेश सरकारविरुद्ध नाराबाजी गरेका छन्।
प्रदर्शन उग्र बन्न नदिन बंगलादेश उच्चायोग र त्यस वरपरको क्षेत्रमा अतिरिक्त सुरक्षा बल तैनाथ गरिएको छ। प्रहरीले कडा चेकजाँच र निगरानी बढाएको छ।
एएनआईले सार्वजनिक गरेको भिडियो फुटेजमा प्रहरीले लगाएको ब्यारिकेड तोड्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच धकेलाधकेल भएको देखिन्छ। प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो।
गत डिसेम्बर १८ मा बंगलादेशको मैमनसिंह जिल्लामा धर्मको अपमान गरेको आरोप लगाउँदै एक आक्रोशित भीडले हिन्दु युवक दीपु चन्द्र दासको कुटीकुटी हत्या गरेको थियो।
प्रहरीका अनुसार हत्यापछि उनको शवलाई एउटा रुखमा झुन्ड्याएर आगो लगाइएको थियो। यही अमानवीय घटनाको विरोधमा अहिले भारतमा आक्रोश बढेको हो।
पुष ८, २०८२ मंगलबार १३:००:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।