महिला टी-२० विश्वकपको ग्लोबल छनोटको खेल तालिका सार्वजनिक, तल्लो मुलपानीमा अभ्यास खेल मात्रै हुने

महिला टी-२० विश्वकपको ग्लोबल छनोटको खेल तालिका सार्वजनिक, तल्लो मुलपानीमा अभ्यास खेल मात्रै हुने

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ मा इङ्ल्यान्ड र वेल्समा हुने महिला टी-२० विश्वकपका लागि हुने ग्लोबल छनोटको खेल तालिका र समूह विभाजन सार्वजनिक गरेको छ।

सन् २०२६ को जनवरी १४ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुने यस प्रतियोगितामा १० राष्ट्रले विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्।

सार्वजनिक तालिका अनुसार आयोजक नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा बलिया टोलीहरू स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेका छन्।

त्यस्तै, समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पीएनजी), नामिबिया र अमेरिका (यूएसए) रहेका छन्।

समूह चरणका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी (माथिल्लो) क्रिकेट मैदानमा हुनेछन्। नेपालले आफ्नो पहिलो खेल माघ ४ गते (जनवरी १८) थाइल्यान्डसँग खेल्नेछ।

पहिलो खेल: नेपाल विरुद्ध थाइल्यान्ड- जनवरी १८ (माघ ४), अपरान्ह (माथिल्लो मूलपानी)
दोस्रो खेल: नेपाल विरुद्ध नेदरल्यान्ड्स- जनवरी २२ (माघ ८), बिहान (माथिल्लो मूलपानी)
तेस्रो खेल: नेपाल विरुद्ध जिम्बाब्वे- जनवरी २४ (माघ १०), अपरान्ह (त्रिवि मैदान)
चौथो खेल: नेपाल विरुद्ध स्कटल्यान्ड- जनवरी २६ (माघ १२), बिहान (त्रिवि मैदान)

वार्म-अप (अभ्यास) खेलहरू
मुख्य प्रतियोगिता सुरु हुनुअघि टिमहरूले वार्म-अप खेल खेल्नेछन्। नेपालले दुईवटा वार्म-अप खेल खेल्ने तालिका छ:
जनवरी १४ (बुधबार): नेपाल विरुद्ध आयरल्यान्ड (तल्लो मूलपानी मैदान)
जनवरी १६ (शुक्रबार): नेपाल विरुद्ध अमेरिका (त्रिवि मैदान)

पुष ८, २०८२ मंगलबार १२:४४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।