अमेरिकी न्याय विभागद्वारा एपस्टिनको आत्महत्या भन्दै ‘फेक भिडियो’ सार्वजनिक, लगत्तै हटाइयो

अमेरिकी न्याय विभागद्वारा एपस्टिनको आत्महत्या भन्दै ‘फेक भिडियो’ सार्वजनिक, लगत्तै हटाइयो

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एपस्टिनका ‘सेक्स फाइलहरू’ सार्वजनिक हुँदा धेरै निर्दोष मानिसहरूको छवि बिग्रन सक्ने चिन्ता व्यक्त गरेका छन्।

उनले एपस्टिनका अपराधसँग कुनै सम्बन्ध नभएका तर उनीसँग सामान्य भेटघाट मात्र गरेका व्यक्तिहरू पनि यसको मारमा पर्न सक्ने बताएका हुन्।

सोमबार फ्लोरिडास्थित आफ्नो मार-ए-लागो रिसोर्टमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले एपस्टिन प्रकरणमा भइरहेको हंगामालाई रिपब्लिकन पार्टीको सफलताबाट ध्यान मोड्ने प्रयासको संज्ञा दिए।

आफ्नो पनि एपस्टिनसँग केही तस्बिरहरू रहेको स्वीकार गर्दै ट्रम्पले त्यस बेला धेरै मानिस उनीसँग भेटघाट गर्ने गरेको प्रस्ट पारे। यस विषयलाई अनावश्यक रूपमा उचालिएको उनको भनाइ छ।

सार्वजनिक फाइलहरूमा पूर्वराष्ट्रपति बिल क्लिन्टनका तस्बिरहरू आएको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मलाई बिल क्लिन्टन मन पर्छन्, मसँग उहाँको राम्रो सम्बन्ध थियो। उहाँका तस्बिरहरू सार्वजनिक भएको मलाई राम्रो लागेन।’

यसैबिच, अमेरिकी न्याय विभागले सोमबार राति यौन अपराधी जेफ्री एपस्टिनको जेलभित्रको मृत्युसँग सम्बन्धित भनिएको एउटा भिडियो जारी गर्यो। करिब १२ सेकेन्डको उक्त भिडियोमा एक व्यक्तिले आत्महत्याको प्रयास गरिरहेको देखिन्थ्यो।

भिडियोलाई १० अगस्ट २०१९ बिहान ४:२९ बजे (एपस्टिनको मृत्यु हुनुभन्दा दुई घण्टाअघि)को बताइएको थियो।

तर, न्युयोर्क पोस्टका अनुसार उक्त भिडियो सक्कली नभई आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर बनाइएको नक्कली भिडियो भएको पुष्टि भयो। यो भिडियो पहिले नै ‘४-चान’ वेबसाइट र युट्युबमा उपलब्ध थियो।

गल्ती महसुस भएलगत्तै विभागले आफ्नो वेबसाइटबाट भिडियो हटाएको छ।

सुरुमा मानिसहरूले यसलाई एपस्टिनको मृत्युको वास्तविक फुटेज ठाने पनि ध्यान दिएर हेर्दा जेलको कोठाको ढोका र भुइँमा छरिएका कपडाहरू अस्वाभाविक देखिएपछि यसको विश्वसनीयतामा प्रश्न उठेको थियो।

जुलाई २०१९ मा पक्राउ परेका एपस्टिनको १० अगस्ट २०१९ मा जेलभित्रै मृत्यु भएको थियो। सरकारी रिपोर्टले उनले पासो लगाएर आत्महत्या गरेको दाबी गरे पनि मेडिकल र कानुनी विज्ञहरूले यसमा प्रश्न उठाउँदै आएका छन्।

पोस्टमार्टममा एपस्टिनको घाँटीका धेरै हड्डी भाँचिएको पाइएको थियो। फरेन्सिक विज्ञ डा. माइकल बाडेनले यस्तो चोट पासो लाग्दा नभई घाँटी थिच्दा हुने दाबी गरेका थिए। साथै, मृत्यु भएको रात जेलका क्यामेराहरू बिग्रनु र फुटेजमा ‘जम्प’ देखिनुले घटनालाई शंकास्पद बनाएको छ।

अमेरिकी न्याय विभागले शुक्रबार एपस्टिन प्रकरणसँग सम्बन्धित करिब तीन लाख दस्तावेज सार्वजनिक गरेको थियो। जसमा पप स्टार माइकल ज्याक्सन, पूर्वराष्ट्रपति बिल क्लिन्टन र टेलिभिजन प्रस्तोता ओपरा विन्फ्रेजस्ता चर्चित व्यक्तिहरूको तस्बिर समावेश छ।

यद्यपि, पीडितहरूको एफबीआई अन्तर्वार्ता र एपस्टिनलाई किन पहिले नै कडा सजाय भएन भन्ने फैसलाका प्रतिलिपिहरू भने सार्वजनिक गरिएको छैन।

डेमोक्र्याट नेताहरूले ट्रम्पसँग सम्बन्धित तस्बिरहरू हटाइएको आरोप लगाउँदै सरकारले सत्य लुकाउन खोजेको दाबी गरेका छन्।

पुष ८, २०८२ मंगलबार १०:१५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।