बंगलादेश : उस्मान हादीको हत्यापछि अब अर्का नेतामाथि सार्वजनिक स्थानमै गोली प्रहार

बंगलादेश : उस्मान हादीको हत्यापछि अब अर्का नेतामाथि सार्वजनिक स्थानमै गोली प्रहार

एजेन्सी : बंगलादेशमा ‘इन्कलाब मञ्च’सँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्या भएको केही दिन नबित्दै अर्का एक नेतामाथि सार्वजनिक स्थानमै गोली प्रहार भएको छ।

बंगलादेशको पत्रिका ‘ढाका ट्रिब्युन’का अनुसार, नेसनल सिटिजन पार्टी (एनसीपी)का खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलब सिकदरमाथि सोमबार बिहान गोली हानिएको हो।

सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडांगा क्षेत्रमा सिकदरमाथि गोली प्रहार भएको हो।

अस्पताल स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाए अनुसार, घाइते सिकदरलाई उपचारका लागि खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ।

सोनाडांगा मोडल प्रहरी चौकीका इन्चार्ज अनिमेष मण्डलका अनुसार, सिकदरलाई अज्ञात समूहले गोली हानेको थियो।

घटनालगत्तै स्थानीय बासिन्दाले उनलाई उद्धार गरी अस्पताल पुर्याएका थिए। अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ र घटनाको अनुसन्धान भइरहेको छ।

यसअघि गत डिसेम्बर १२ मा ढाकाको एउटा मस्जिदबाट निस्किँदै गर्दा विद्यार्थी नेता उस्मान हादीमाथि गोली प्रहार भएको थियो। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि डिसेम्बर १५ मा सिंगापुर लगिएको थियो।

उपचारकै क्रममा डिसेम्बर १८ मा अस्पतालमा हादीको मृत्यु भयो। उनको मृत्युपछि बंगलादेशमा हिंसा भड्किएको थियो। अहिले फेरि अर्का नेतामाथि गोली प्रहार भएपछि त्यहाँको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।

पुष ८, २०८२ मंगलबार ०९:०४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।