दिल्लीपछि अब अगरतला र सिलिगुडीमा पनि बंगलादेशले बन्द गर्यो भिसा सेवा
एजेन्सी : बंगलादेशले भारतको दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवा रोकेपछि अब अगरतला र सिलिगुडीमा रहेका भिसा कार्यालयहरू पनि बन्द गरेको छ।
बीबीसी बांग्ला सेवाका अनुसार, त्रिपुराको अगरतलामा रहेको बंगलादेशको भिसा तथा काउन्सिलर सेवा मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ।
त्यस्तै, पश्चिम बंगालको सिलिगुडीमा रहेको बंगलादेश भिसा आवेदन केन्द्रको काम पनि अस्थायी रूपमा स्थगित गरिएको छ।
बंगलादेशमा हिन्दु युवक दीपु चन्द्र दासको मृत्यु भएपछि विगत केही दिनदेखि अगरतलामा विभिन्न स्थानीय संगठनहरूले विरोध प्रदर्शन गरिरहेका छन्।
सुरक्षा र विरोध प्रदर्शनको यही अवस्थालाई मध्यनजर गर्दै भिसा सेवाहरू बन्द गरिएको बुझिएको छ।
अन्य स्थानमा सेवा बन्द गरिए पनि कोलकातामा रहेको बंगलादेशको भिसा कार्यालय भने खुला नै रहेको छ। बीबीसीले दूतावास स्रोतलाई उद्धृत गर्दै कोलकातामा सेवा सुचारु रहेको जनाएको छ।
यसअघि बंगलादेशले दिल्लीस्थित उच्चायोगमा पनि भिसा सेवा अस्थायी रूपमा बन्द गरेको थियो। उच्चायोगको गेटमा टाँसिएको सूचनामा अर्को आदेश नभएसम्मका लागि सेवा बन्द रहने उल्लेख छ।
पुष ८, २०८२ मंगलबार ०८:२५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।