रवि र बालेनबीच ७ घण्टा लामो वार्ता : वैकल्पिक शक्तिहरूलाई एक ठाउँ ल्याउने सहमति, एउटै गाडीमा बाहिरिए दुई नेता

रवि र बालेनबीच ७ घण्टा लामो वार्ता : वैकल्पिक शक्तिहरूलाई एक ठाउँ ल्याउने सहमति, एउटै गाडीमा बाहिरिए दुई नेता

काठमाडौं : जेन-जी आन्दोलनपछि सिर्जित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको सहकार्यले मूर्त रूप लिने संकेत देखाएको छ।

वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने पहलस्वरूप सोमबार राति दुई नेताहरूबिच ७ घण्टा लामो ‘निर्णायक’ छलफल भएको छ।

कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालयमा भएको उक्त वार्तापछि दुई नेता एउटै गाडीमा बाहिरिएका छन्, जसले वैकल्पिक राजनीतिक ध्रुवीकरणको बलियो सन्देश दिएको छ।

वार्ताको सहजीकरण गरेका सांसद असिम शाहले रवि र बालेनलाई एउटै गाडीमा बिदा गरेपछि राति १:४२ बजे सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन दुई दाजु-भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।’

सञ्चारकर्मीहरूसँगको कुराकानीमा सांसद शाहले यो भेटघाट देशको आवश्यकताको उपज भएको बताए। भिडियो अन्तर्वार्तामा उनले भने, ‘यो लामो समयदेखिको पेन्डिङ भेटघाट थियो। एउटा दाजु र भाइ एक ठाउँमा बसेर एक–अर्काका पीडा, दुःख र भावना साटासाट भएको छ। यो स्तरमा यसरी दुईजना कहिल्यै बस्न पाउनुभएको थिएन।’

सोमबारको छलफलमा निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँमा ल्याउने सहमति भएको स्रोतको दाबी छ। यसअघि आइतबार र सोमबार बिहान पनि उनीहरूबिच भेटवार्ता भएको थियो। वार्तामा सहभागी स्रोतका अनुसार निष्कर्ष ‘मिलेर जाने र एक-अर्कालाई साथ दिने’ रहेको छ।

रास्वपा नेता गणेश कार्कीले नेतृत्व तहमै निर्णायक छलफल भइरहेको र सकारात्मक नतिजा आउने अपेक्षा व्यक्त गरे। छलफलमा रास्वपा उपसभापति डिपी अर्याल, मेयर शाहका सहयोगी कुमार बेन र जेन-जी अगुवा सुदन गुरुङ पनि सहभागी थिए।

त्याग गर्न रवि तयार, बालेनको प्रधानमन्त्री चर्चामा के छ सत्यता?
बजारमा बालेन शाहलाई प्रधानमन्त्री बनाउने चर्चा चलिरहँदा सांसद असिम शाहले भने त्यस्तो कुनै ठोस राजनीतिक निर्णय नभएको तर देश बनाउन दुवै मिल्नुपर्छ भन्ने सन्देश प्रवाह भएको बताए।

‘सन्देश यति हो कि रवि र बालेन मिलेर अब यो देश बनाउनुपर्छ, एउटै गाडीको यात्राले पनि त्यही संकेत गर्छ’, उनले भने।

यता, सभापति लामिछानेले नयाँ शक्तिहरू मिल्ने सर्तमा आफू जस्तोसुकै त्याग गर्न तयार रहेको सार्वजनिक रूपमै बताइसकेका छन्।

शनिबार उनले भनेका थिए, ‘मिल्नुपर्नेहरू जो-जो हो, हामी मिलेरै छाड्छौँ। यसका लागि पहिलो त्याग रवि लामिछानेले गर्छ।’

सुशीला कार्की र कुलमानसँग पनि संवाद
वैकल्पिक शक्ति निर्माणकै क्रममा लामिछानेले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग एक्ला-एक्लै वार्ता गरेका थिए। रास्वपा नेताहरूका अनुसार लामिछानेले ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेट्ने तयारी गरेका छन्। घिसिङ पनि सहकार्यका लागि सकारात्मक रहेको बुझिएको छ।

वार्तामा मध्यस्थता गरिरहेका जेन–जी अगुवा सुदन गुरुङले एजेन्डामा दुवै नेता एकै ठाउँमा भए पनि शक्ति सन्तुलन र संगठनात्मक बाँडफाँट मिलाउन बाँकी रहेको बताए।

उनले भने, ‘सबै ओपन माइन्डेड भएकाले मिल्ने सम्भावना सय प्रतिशत नै छ। अब केही गरेर मिलेन भने अर्को आन्दोलनको विकल्प छैन।’

रास्वपा उपसभापति डिपी अर्यालका अनुसार दुई नेताबीच भएको छलफलको विस्तृत प्रगति र सहकार्यको मोडल बारे मंगलबार थप जानकारी सार्वजनिक गरिनेछ।

पुष ८, २०८२ मंगलबार ०७:२६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।