बानेश्वरको भवन खरानी भएपछि सिंहदरबारमा ब्युँतिदै पुरानो हल, राष्ट्रिय सभा बैठकको तयारी तीव्र (फोटो फिचर)

बानेश्वरको भवन खरानी भएपछि सिंहदरबारमा ब्युँतिदै पुरानो हल, राष्ट्रिय सभा बैठकको तयारी तीव्र (फोटो फिचर)

काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको आक्रोशले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको  संसद भवन तोडफोड र आगजनीबाट ध्वस्त भएपछि संसदीय गतिविधि ठप्प छ।

प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा राष्ट्रिय सभाको बैठक बस्ने स्थानका लागि सिंहदरबारभित्रको पुरानो हललाई मर्मत गर्न थालिएको छ। आन्दोलनपछि भदौ ३१ गते मध्यरातबाट राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो।

अब हिउँदे अधिवेशन बोलाउने तयारीस्वरूप सिंहदरबारस्थित विघठित प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको बैठक कक्ष अर्थात पुरानो राष्ट्रिय सभा हललाई मर्मत सम्भार गरी चिटिक्क पार्ने काम भइरहेको छ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले पुस १२ गते आसपास बैठक बोलाउने तयारी गरेसँगै करिब ३० लाख रुपैयाँ खर्चेर हलको मर्मत सुरू गरिएको हो।

शहरी विकास मन्त्रालय अन्तर्गतको समितिले सिभिल वर्क र संसद सचिवालयले प्राविधिक व्यवस्थापनको काम गरिरहेका छन्।

निर्माणाधीन संघीय संसद भवन तयार हुन अझै समय लाग्ने भएपछि यो हललाई अस्थायी विकल्पका रूपमा प्रयोग गर्न लागिएको हो।

यहाँ सांसद, सरकार पक्ष र कर्मचारी गरी ८० देखि ८५ जना र पत्रकार तथा दर्शकका लागि करिब ६० वटा कुर्सीको व्यवस्थापन गरिँदैछ।

सिंहदरबारस्थित पुरानो ग्यालरी बैठकको बाहिरी भागमा रंगरोगन गर्दै कामदारहरू।

बैठक कक्षभित्रको मञ्च व्यवस्थापनका लागि फलामका संरचनामा वेल्डिङ गर्दै कामदार।

राष्ट्रिय सभाको बैठक कक्षका लागि कुर्सी र टेबलको व्यवस्थापन गर्नुअघि हलको नापजाँच र फर्निचरको अवस्था हेर्दै प्राविधिक तथा कर्मचारीहरू।

भवनको माथिल्लो तलामा रहेको बरन्डा र झ्याल ढोकाहरूको मर्मत तथा सरसफाई गरिँदै। यो भवन यसअघि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षको रूपमा प्रयोग भइरहेको थियो।

सभाहलभित्र पुराना टेबल तथा डेस्कहरूलाई मिलाएर राख्दै कर्मचारीहरू। यहाँ ८० देखि ८५ जना सांसद तथा उच्चपदस्थहरू बस्ने व्यवस्था मिलाइँदैछ।

राष्ट्रिय सभा अध्यक्षले आसन ग्रहण गर्ने मञ्च र रोस्ट्रम क्षेत्रको अवस्था निरीक्षण गर्दै। यहाँको सजावट र पर्दाहरू मिलाउने काम बाँकी छ।

हलभित्र विद्युतीय वाइरिङ र एयर कन्डिसनर (एसी)को मर्मत गर्दै प्राविधिक। बैठक सञ्चालनका लागि माइक, क्यामेरा र साउन्ड सिस्टम जडान गर्ने काम संसद सचिवालयले गर्दैछ।

बैठक कक्षका लागि आवश्यक कुर्सीहरू ओसारपसार र व्यवस्थापन गरिँदै। एक साताभित्र हल पूर्ण रूपमा तयार हुने सचिवालयले जनाएको छ।

पुष ७, २०८२ सोमबार १३:५५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।