सात माग राखेर माइतीघरमा जेन-जीको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, निकोलस र रविकिरणसहित दर्जन बढी पक्राउ
काठमाडौं : ‘गरिखान देऊ’ अभियानका संयोजक मिरज ढुंगानाको नेतृत्वमा सोमबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित ‘संयुक्त जेन-जी आन्दोलन’ मा प्रहरीले हस्तक्षेप गरेको छ।
जिल्ला प्रशासन कार्यालयको अनुमतिबिना प्रदर्शन गरिएको भन्दै प्रहरीले धरपकड गर्दा निकोलस भुसाल र रविकिरण हमालसहित दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका छन्।
सोमबार बिहानैदेखि माइतीघर र आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको थियो। काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रशासनबाट अनुमति नलिएका कारण प्रहरीले प्रदर्शनकारीलाई अघि बढ्न रोक लगाएको थियो। प्रहरीले सुरुमा माइकिङ गर्दै अनुमति नभएकाले कार्यक्रम नगर्न र गन्तव्यतर्फ लाग्न आग्रह गरेको थियो।
तर, आन्दोलनकारीले नाराबाजी सुरु गरेपछि प्रहरीले हस्तक्षेप गरी भिडलाई तितरबितर पारेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो। मिरज ढुंगानासहितको टोली सामूहिक गिरफ्तारी दिने भन्दै प्रहरी वृत्त भद्रकालितर्फ बढ्न खोज्दा प्रहरीले ब्यारिकेड लगाएर उनीहरूलाई माइतीघरमै रोकेको थियो।
पक्राउ पर्नेमा अभियन्ता रविकिरण हमाल र निकोलस भुसाल लगायत छन्। निकोलस भुसाललाई यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रदर्शनकारीहरूले ‘जेन-जीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेका थिए। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले १०० दिनमा जनअपेक्षा अनुसार काम नगरेको र भदौ २३-२४ को आन्दोलनका माग बेवास्ता गरेको भन्दै उनीहरूले सात बुँदे माग अघि सारेका छन्।
सर्वपक्षीय सरकार गठनपछि मात्र निर्वाचनमा जानुपर्ने, अहिलेसम्मका सबै ठूला भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ।
यसका अलावा उनीहरूले जेन-जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गरिनुपर्ने, भदौ २३ र २४ गते भएका घटनाको दोषीलाई कारबाही तथा शहीद परिवार र घाइतेको उचित व्यवस्थापन हुनुपर्ने र प्रदेश सरकारको पुनर्संरचना गरिनुपर्ने माग पनि गरेका छन्।
सरकारले आफ्ना माग पूरा नगरेसम्म सडक नछोड्ने उनीहरूको चेतावनी दिएका छन्।
पुष ७, २०८२ सोमबार १३:२०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।