‘राजनीतिक महत्वाकांक्षा हुन्थ्यो भने देशको अवस्था बेग्लै हुन्थ्यो’
काठमाडौं : नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’ र त्यसपछिको राजनीतिक घटनाक्रममा आफ्नो कुनै राजनीतिक महत्वाकांक्षा नरहेको स्पष्ट पारेको छ।
सेनाले एक लेखमा तत्कालीन संकटको घडीमा आफूले संविधानको मर्म अनुरुप नागरिक सर्वोच्चता र कार्यपालिकाको निर्णयलाई सम्मान गर्दै भूमिका निर्वाह गरेको जनाएको छ।
जंगी अड्डाद्वारा जारी लेखमा भनिएको छ, ‘सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकांक्षा देखाएको छ। तत्कालीन राजनीतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो।’
सेनाले भदौ २४ गतेको परिस्थिति अत्यन्तै अराजक र संवेदनशील बनेको उल्लेख गर्दै त्यस दिन विशिष्ट व्यक्ति, कूटनीतिज्ञ र सर्वसाधारणको जीवन रक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएको छ।
‘यदि सेनाले कार्यपालिकाको आदेशबिना हस्तक्षेप गरेको भए र थप नागरिकको मृत्यु भएको भए परिस्थिति सम्हालिन कठिन हुने थियो,’ सेनाले भनेको छ, ‘भौतिक संरचना जोगाउन जनतामाथि गोली चलाएको भए सेनामाथि झन् ठूलो प्रश्न उठ्ने थियो।’
भूकम्प वा विपद्का बेला जस्तै संकटको समयमा पनि सेनाले संयमित भएर उद्धार र मानवीय सहायतामा केन्द्रित भएको जंगी अड्डाको दाबी छ।
आन्दोलनको समयमा प्रधानसेनापतिको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर देखिएको विषयमा भएको आलोचनाप्रति पनि सेनाले जवाफ दिएको छ।
पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक र राष्ट्रनिर्माता भएको भन्दै सेनाले संकटको घडीमा राष्ट्रिय एकता र अखण्डताको स्मरण गराउन उक्त तस्बिर प्रयोग गरिएको स्पष्ट पारेको छ। यसलाई कुनै राजनीतिक सन्देशका रूपमा नबुझ्न सेनाले आग्रह गरेको छ।
देश निर्वाचनको दिशामा अघि बढिरहेको सन्दर्भमा सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य निकायहरूसँग समन्वय गर्दै संवैधानिक दायित्व निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
सेनाले इतिहासदेखि नै नागरिक सर्वोच्चताको पक्षमा उभिएको र कहिल्यै सत्ता हस्तक्षेप नगरेको स्मरण गराउँदै भनेको छ, ‘यदि सेनामा राजनीतिक महत्वाकांक्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र?’
सेनाले घटनाक्रमको सतही विश्लेषण नगरी वस्तुपरक ढंगले बुझ्न र सुरक्षा निकायहरूलाई मजबुत बनाउन सबैलाई आग्रह गरेको छ।
पुष ७, २०८२ सोमबार १३:०५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।