दिल्लीमा हाइ कमिसनमा भएको प्रदर्शन र बंगलादेशमा हिन्दु युवकको हत्यालाई लिएर भारत-बंगलादेश बीच वाकयुद्ध
एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीस्थित बंगलादेश हाई-कमीशन बाहिर भएको प्रदर्शनलाई लिएर भारत र बंगलादेश बीच कूटनीतिक वाकयुद्ध चर्किएको छ।
बंगलादेशमा हिन्दु युवक दीपु चन्द्र दासको हत्याको विरोधमा दिल्लीमा यो प्रदर्शन गरिएको थियो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले दिल्लीमा भएको प्रदर्शन एकदमै सानो र शान्तिपूर्ण रहेको स्पष्ट पारेका छन्।
उनले भने, ‘प्रदर्शनमा जम्मा २० देखि २५ जना युवाहरू मात्र सहभागी थिए र यसबाट बंगलादेश उच्चायोगको सुरक्षामा कुनै खतरा थिएन।’
साथै, भारतले बंगलादेशका केही मिडियाहरूले यस घटनालाई लिएर भ्रामक प्रचार गरिरहेको आरोप लगाएको छ।
बंगलादेशले भारतको भनाइलाई अस्वीकार गरेको छ। बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार एम. तौहिद हुसेनले भारतले यो घटनालाई चाहिने भन्दा बढी हल्का बनाएर पेश गरेको बताए।
उनले प्रश्न उठाए, ‘अत्यन्त सुरक्षित मानिने कूटनीतिक क्षेत्रमा २५-३० जनाको समूह कसरी पुग्यो? अनुमति बिना यो सम्भव हुनु नपर्ने हो।’
उनले प्रदर्शनमा हत्याको विरोध मात्र नभई अन्य नाराहरू पनि लागेको र बंगलादेशी मिडियाका रिपोर्टहरू धेरै हदसम्म सही रहेको दाबी गरे।
यस तनावको मुख्य कारण बंगलादेशमा भएको एक हिन्दु युवकको हत्या हो। बंगलादेशको ढाका नजिकै भालुकामा २५ वर्षीय दीपु चन्द्र दासलाई भिडले कुटेर हत्या गरेको थियो।
दीपुले फेसबुकमा धर्मको अपमान हुने टिप्पणी गरेको आरोप लगाइएको थियो। तर, बंगलादेशको र्यापिड एक्सन बटालियनको अनुसन्धानमा उनले त्यस्तो कुनै अपमानजनक कुरा लेखेको प्रमाण भेटिएन।
बीबीसी बांग्लाको रिपोर्ट अनुसार, प्रदर्शनकारीहरूले दीपुको शवलाई नग्न बनाएर रूखमा झुण्ड्याई आगो लगाइदिएका थिए। सामाजिक सञ्जालमा भाइरल भिडियोमा मानिसहरूले धार्मिक नारा लगाएको देखिन्छ।
दीपुको हत्या अभियोगमा अहिलेसम्म १२ जनालाई पक्राउ गरिएको छ। कपडा कारखानामा सँगै काम गर्ने सहकर्मीहरूले पनि दीपुले धर्मको अपमान गरेको कहिल्यै नसुनेको बताएका छन्।
बंगलादेशको झिनाइदह जिल्लामा गोविन्द विश्वास नामका एक हिन्दु रिक्सा चालकमाथि पनि भिडले कुटपिट गरेको छ।
उनको हातमा ‘कलावास’ देखेर भिड जम्मा भएको थियो। उनलाई भारतीय गुप्तचर संस्था ‘रअ’को एजेन्ट भएको हल्ला फैलाई स्थानीय मौलवी सहितको भिडले कुटपिट गरेको थियो।
पछि प्रहरीले उनलाई उद्धार गरी आमाको जिम्मा लगाएको छ।
पुष ७, २०८२ सोमबार ०७:४८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।