नयाँ दिल्लीमा 'इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एन्ड अवार्ड्स' हुने, कृष्ण मल्ल मुख्य जुरी
काठमाडौं : नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीमा 'इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एन्ड अवार्ड्स' (इन्फा) आयोजना हुने भएको छ। आयोजकका अनुसार महोत्सव आगामी सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म सञ्चालन हुनेछ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउन र व्यावसायिक सम्बन्ध विस्तारका लागि साझा मञ्च निर्माण गर्ने लक्ष्यका साथ यो अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको हो।
सन् २०२५ का फिल्मले सहभागी हुन पाउने
अवार्डमा प्रतिस्पर्धाका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरूबाट आवेदन आह्वान गरिएको छ। इच्छुक फिल्मकर्मीले २०२६ जनवरी ७ सम्म आवेदन दिन सक्नेछन्। फिल्महरू 'फिल्म फ्री वे', इमेल वा नेपाल चलचित्र निर्देशक समाजको कार्यालयमार्फत बुझाउन सकिने आयोजकले जनाएको छ।
तुलसी घिमिरेदेखि सुनिल थापासम्म जुरीमा
महोत्सवको प्रमुख जुरीका रूपमा वरिष्ठ अभिनेता कृष्ण मल्ल चयन भएका छन्। त्यस्तै, जुरी सदस्यहरूमा प्रसिद्ध निर्देशक तुलसी घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री बिपना थापा र भारतीय थिएटर कलाकार अभतार शाहनी रहेका छन्।
सांस्कृतिक कूटनीतिको माध्यम फिल्म
इन्फाका अध्यक्ष राजेन्द्र घिमिरेले यो महोत्सव नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रभाव विस्तार गर्ने महत्वपूर्ण अवसर हुने बताए। "हाम्रो प्रयास नेपाली चलचित्र र प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउनु हो," उनले भने।
महोत्सव निर्देशक (नेपाल) जनकदीप पराजुलीका अनुसार, यस कार्यक्रमले भारत र नेपालको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ। कार्यक्रममा रेड कार्पेट अवार्ड समारोह, प्रिमियर शो, चलचित्र मन्थन र सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षण रहनेछन्।
त्यस्तै, इन्फाकी प्रवक्ता एवं हिमचुली फाउन्डेसनकी संस्थापक आकांक्षा शाहले फिल्म प्रदर्शनका साथै प्यानल छलफल र टक शोहरू पनि आयोजना गरिने जानकारी दिइन्। यसले नेपाललाई छायाङ्कन गन्तव्यका रूपमा चिनाउन र भारत-नेपालबिच संयुक्त निर्माणका सम्भावनाहरू खोज्न मद्दत पुग्ने उनको विश्वास छ।
महोत्सवले उदाउँदा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने र दुई देशका चलचित्र उद्योगबीच सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
पुष ६, २०८२ आइतबार २१:११:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।