निर्वाचनको वातावरण पातलिँदै गएपछि एमालेसँगै कांग्रेस र लोसपा संसद् पुनर्स्थापनाको पक्षमा, प्रचण्ड र रवि विपक्षमा

निर्वाचनको वातावरण पातलिँदै गएपछि एमालेसँगै कांग्रेस र लोसपा संसद् पुनर्स्थापनाको पक्षमा, प्रचण्ड र रवि विपक्षमा
विघटित प्रतिनिधी सभाको बैठकको एक दृष्य।

काठमाडौं : आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन हुने वातावरण पातलिँदै गएपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदहरू पनि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिएका छन्।

सरकारले निर्वाचनको माहोल बन्दै गएको दाबी गरे पनि तयारी भने अति सुस्त छ। समयका आधार करिब साढे दुई महिना बाँकी छ। निर्वाचन आयोगदेखि सुरक्षा निकायका प्रमुखहरुसँग दलका उच्च नेतृत्वले परामर्श गर्दा फागुन २१ मा निर्वाचन सम्भव नहुने देखिएपछि कांग्रेससहिका अन्य दल पनि प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा खुल्न थालेका हुन्।

अदालतमा विचाराधीन प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी रिटमा तत्कालीन बहुमत सांसदहरूको हस्ताक्षरसहित पूरक निवेदन दिने प्रयोजनका लागि कांग्रेसका ५७ जना सांसदले हस्ताक्षर गरेका छन्। यसअघि कांग्रेसका सात र एमालेका तर्फबाट मुख्य सचेतकहरूले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरिसकेका छन्।

देउवा र ओलीबीचको परामर्शपछि नयाँ रणनीति

कांग्रेस केन्द्रीय कार्यसमितिले संस्थागत रूपमा निर्वाचनमा जाने निर्णय गरे पनि पछिल्लो राजनीतिक घटनाक्रम र सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको परामर्शपछि पुनर्स्थापनाको मुद्दालाई पनि सँगै अघि बढाउने रणनीति बनेको देखिन्छ।

यद्यपि, पार्टीभित्र यस विषयमा तीव्र मतभेद देखिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन्। सभापति देउवाले पनि हस्ताक्षर गरेका छैनन्। अहिले कांग्रेसमा संस्थागत भन्दा व्यक्तिगत रूपमा हस्ताक्षर गर्नेक्रम बढेको हो।

बढ्दै सांसदहरूको संख्या

तीन दिनदेखि जारी हस्ताक्षर सङ्कलनका क्रममा आइतबारसम्म कांग्रेसका ५७, जनमत पार्टीका दुई र एक स्वतन्त्र गरी ६० सांसदले हस्ताक्षर गरेका छन्। यसअघि सात सांसदले रिट दायर गरेका थिए। आइतबारसम्म एमालेको ७५ सांसदसहित प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा एक सय ४२ सांसद पुगिसकेका छन्।

प्रचण्ड र रवि विपक्षमा

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने भने प्रतिनिधी सभा पुनर्स्थापनाको विपक्षमा छन्। सकारी ठगीको फैसलामा दोषी ठहर भए बुझाउने बिगो राखेर थुनामुक्त भएदेखि नै रविले प्रमुख दलका नेताहरुलाई प्रतिनिधी सभा पुनर्स्थापनाका लागि आँखा नचम्काउनु भन्दै चेतावनी दिइरहेका छन्।

 

पुष ६, २०८२ आइतबार २०:०२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।