एमालेको केन्द्रीय कमिटीमा लुम्बिनीका १५ नयाँ अनुहार
बुटवल : एमालेको हालै सम्पन्न ११ औँ महाधिवेशनमा लुम्बिनीबाट केन्द्रीय पदाधिकारीमा कमजोर उपस्थिति रहे पनि केन्द्रीय सदस्यमा भने युवा र महिलाको बलियो उपस्थिति देखिएको छ। लुम्बिनीबाट ४ पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य र १५ जना विभागमा छन्।
१५ जनाले यस अधिवेशनबाट केन्द्रीय सदस्यमा ‘डेब्यू’ गरेका छन्। १० औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समितिमा रहेकाहरू मध्ये यस पटक ४ जनाले स्वेच्छिक अवकाश रोजेका छन्।
लुम्बिनीबाट एमाले पदाधिकारीमा उपाध्यक्ष द्वय, विष्णु पौडेल र गोकर्ण विष्ट, महासचिवमा शंकर पोखरेल र सचिवमा छविलाल विश्वकर्मा निर्वाचित भएका छन्।
यस अधिवेशनबाट १५ जना केन्द्रीय सदस्यमा ‘डेब्यू’ गरेका छन्। बुटवलका पर्यटन व्यवसायीसमेत रहेका युवा नेता गोपाल राना लोकप्रिय मतका साथ विजयी भए। उनी यसअघि लुम्बिनी प्रदेश कमिटी सदस्य थिए।
त्यस्तै समाजवादी पार्टीबाट एमाले प्रवेश गरेकी गुल्मीकी रामकुमारी झाक्री पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। उनी समाजवादी पार्टीमा रहँदा केन्द्रीय सचिव थिइन।
त्यस्तै युवा महिला नेतृ ज्ञानु केसी पनि केन्द्रीय सदस्य बनेकी छन्। प्रदेश कमिटी सदस्य रहेकी उनी बुटवलमा सफल युवा उद्यमका रूपमा परिचित छन्। त्यस्तै रुपन्देहीकै जलिल मियाले पनि केन्द्रीय सदस्यमा ‘डेब्यू’ गरेका छन्।
त्यस्तै रुकुम पूर्वका लिलामणि गौतम, बाँकेकी आरती पौडेल र बसन्ती अधिकारीले केन्द्रीय सदस्यमा डेव्यू गरेका छन्। पौडेल लुम्बिनी प्रदेशकी पूर्व कृषि मन्त्री हुन। बसन्ती अधिकारी लुम्बिनी प्रदेश सभा सदस्य छन्।
त्यस्तै बर्दियाबाट ३ महिलाले केन्द्रीय सदस्यमा डेब्यू गरेका छन्। विना ज्ञवाली, कृष्णी थारु, विमला विक. पनि केन्द्रीय सदस्य बनेका हुन। थारु लुम्बिनी प्रदेशकी पूर्व उपसभामुख हुन।

कपिलवस्तुबाट शिवकुमारी चौधरी, नवलपरासीबाट लक्ष्मी केसी, पाल्पाबाट बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, निवर्तमान सांसद नारायण आचार्य र थानेश्वर बस्याल पनि केन्द्रीय सदस्य बनेका छन्। यी सबै नयाँ अनुहार हुन। कपिलवस्तु शिवराज नगरपालिकाको मेयर समेत रहेकी शिवकुमारी चौधरी युवा नेतृ हुन।
त्यस्तै केन्द्रीय सदस्यमा सुनवल नगरपालिकाका मेयर विमला अर्याल र पूर्वसांसद सरिता भुसाल पनि केन्द्रीय सदस्य बनेका छन्। त्यस्तै बाँकेका महम्मद हारुन् हलुवाई, बाँकेका सूर्य ढकाल, शान्ति ढकाल र विजया धिताल पनि केन्द्रमा प्रतिनिधित्व गरिरहेका छन्।
कपिलवस्तु जिल्लाबाट यसअघिका केन्द्रीय सदस्य बलराम अधिकारी र गिरीधारीलाल न्यौपानेमा पनि दोहोरिएर निर्वाचित भएका छन्। एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पदाधिकारीको संख्या कम भए पनि केन्द्रीय कमिटीमा युवा र महिलाको बढी प्रतिनिधित्व रहेको बताए।
लुम्बिनीबाटै लेखा आयोग उपाध्यक्षमा पाल्पाका धनेन्द्रराज घिमिरे, सदस्यहरूमा दाङका रेवतीरमण शर्मा, बाँकेका विजया धिताल, बर्दियाकी विमला केसी, रुपन्देहीका बाबुराम विश्वकर्मा र पाल्पाका निल बहादुर सारू मगर रहेका छन्।
अनुशासन आयोग सदस्यमा दाङका छविलाल वली, रुपन्देहीबाट डा. कृष्ण न्यौपाने, गोपाल भट्टराई र राजेन्द्रप्रसाद पन्थी रहेका छन्। यसैगरी निर्वाचन आयोगमा रुपन्देहीबाट भरत पोखरेल, पाल्पाबाट नारायण शर्मा, दाङबाट हिराचन्द्र केसी, कपिलवस्तुबाट झविलाल पोखरेल र गुल्मीबाट नर्मदा भण्डारी पुगेका छन्।
पुष ६, २०८२ आइतबार ११:१६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।