डा. बाबुराम भट्टराई आइतबार भारत जाँदै : यस्तो छ चार दिने भ्रमण तालिका
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार चार दिने भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले मुम्बई र नयाँ दिल्लीमा आयोजना हुने विभिन्न प्राज्ञिक तथा कूटनीतिक कार्यक्रमहरूलाई सम्बोधन गर्ने तालिका रहेको छ।
भट्टराईको सचिवालयका अनुसार उनले भारतको प्रतिष्ठित संस्था आइआइटी बम्बेमा आयोजित 'टेकफेस्ट' मा 'किनोट स्पिच' दिनेछन्। उनले त्यहाँ "दक्षिण एसियाको लोकतान्त्रिक भविष्य: युवा, प्रविधि र समावेशी लोकतन्त्र' विषयमा आफ्नो धारणा राख्नेछन्।
त्यसैगरी, नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेशनल सेन्टर (आइआइसी) मा 'साउथ एसियन फोरम फर पिपुल्स इनिसियटिभ' (SAFPI)द्वारा आयोजित विशेष कार्यक्रममा पनि उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले भारतका बौद्धिक व्यक्तित्व, कूटनीतिज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र समसामयिक लोकतान्त्रिक अभ्यासका विषयमा विचार विमर्श गर्ने उनको सचिवालयले जनाएको छ।
यस भ्रमणले दुई देशबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। डा. भट्टराई पौष ९ गते स्वदेश फर्किने स्वदेश कार्यक्रम रहेको छ।

पुष ६, २०८२ आइतबार ०९:४३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।