तीन प्रदेशमा मौसम बदली, काठमाडौंमा चिसो बढ्यो

तीन प्रदेशमा मौसम बदली, काठमाडौंमा चिसो बढ्यो

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

आइतबार अन्य भू-भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै, महाशाखाका अनुसार आइतबार राती पनि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 

यता काठमाडौं उपत्यकामा शनिबारको तुलनामा आइतबार चिसो थोरै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार ५.८ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आइतबार बिहान ५:४५ बजे मापन गर्दा ५.६ डिग्री सेल्सियसमा झरेको छ। शनिबारभन्दा आइतबार तापक्रम ०.२ डिग्रीले घटेको हो।

मौसमविदका अनुसार अहिले तल्लो वायुमण्डलमा भन्दा माथिल्लो वायुमण्डलमा बादलको मात्रा बढी देखिएकाले अधिकतम तापक्रममा गिरावट आउने छ। यसले गर्दा दिउँसो घाम नलाग्ने र चिसोको महसुस बढी हुनेछ। न्यूनतम तापक्रममा खासै ठूलो फेरबदल नभए पनि दिउँसोको बदलीले गर्दा आगामी दुई दिन जाडो अझै बढ्ने अनुमान गरिएको छ।

पुष ६, २०८२ आइतबार ०८:४०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।