नेपालको आग्रह : 'विगतको भूमिकाको मूल्याङ्कन होस्

नेपालको आग्रह : 'विगतको भूमिकाको मूल्याङ्कन होस्

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गरेका छन्।

नेकपाको बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देश सभामा शनिबार यहाँ उनले विगतका कमजोरीलाई सुधार्दै मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताए।

नेपालले भने, 'हामीले विगतमा खेलेको भूमिकाको मूल्याङ्कन गर्नुहोस्, नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भनेर स्वागत गर्नुहोस्, त्यसलाई स्वीकार्न हामी तयार छौं।' उनले आसन्न निर्वाचनमार्फत जनताले नेकपालाई बहुमत दिएको खण्डमा आफ्नो पार्टीले जनअपेक्षा पूरा गर्ने विश्वास दिलाए।

'जनचाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अघि बढ्नेछौं। हामीलाई एक पटक मौका दिनुस्, आजसम्म इमान्दारिताको राजनीतिलाई, देशभक्तिको भावनालाई, जनताका सेवाको भावनालाई ध्यानमा राखेर नै भूमिका खेल्दै आइरहेको छौं। आगामी दिनमा थप सचेत भएर भूमिका निर्वाह गर्नेछौं।'

जेनजी पुस्ताको भावना सुशासन कायम र भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रवृत्तिको विपक्षमा रहेजस्तै नेकपाका नेताहरूले पनि विगत लामो समयदेखि यस्तै प्रवृत्तिविरुद्ध जुध्दै आएका उनले जिकिर गरे। 'त्यसका लागि हामीले तत्कालीन सरकारका प्रमुखलाई माग पत्र बुझाएका छौं। सुशासनको पक्षमा आवाज बुलन्द गरेका छौं,' नेपालले भने, 'त्यसकारण आज जेनजी पुस्ताका साथीहरू नेकपामा समाहित भइरहनुभएको छ, नेकपामाथि गरेको त्यो विश्वासलाई कुठाराघात हुन दिँदैनौं।'

पुष ५, २०८२ शनिबार २१:१८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।