मधेशमा चिसोको कहर, जनजीवन प्रभावित
रौतहट : मधेशका जिल्लामा दुई दिनदेखिको बाक्लो हुस्सु तथा सितलहरका कारण अत्यधिक चिसो बढेको छ। विगत केही दिनको तुलनामा मधेशमा शुक्रबार र शनिबार अत्यधिक जाडो बढेको हो। बिहीबारसम्म पारिलो घाम लागेको भए पनि दुई दिनदेखि हुस्सु तथा शितलहरका कारण चिसो बढेको गरुडका स्थानीय पवन उपाध्यायले बताए।
उनका अनुसार बिहानैदेखि हुस्सु लाग्नुका साथै पानी परेजस्तै लगातार सित खसेको छ। सितलहर सहितको चिसो बढेपछि स्थानीयहरू आगो तापेर बस्न थालेको उनको भनाइ छ। चिसो स्याँठ (पश्चिमी हावा) चल्ने हुँदा जाडोले जनजीवन नराम्रोसँग प्रभावित भएको उनले जानकारी दिए। दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूलाई चिसोले निकै सताउने देखिएको छ। यो चिसोमा सडक नै सुनसान हुने र मानिसको चहलपहल कम हुँदा अपेक्षाअनुसार कमाइ नभएको रिक्सा मजदुर हरिराम यादवले बताए।
यसअघि दैनिक करिब दुई हजारसम्म हुने गरे पनि अहिले पाँच सयसम्म कमाउन मुस्किल भएको उनको गुनासो छ। यो चिसोमा काम गर्न सक्ने अवस्था पनि नरहेको अर्का ज्यालादारी मजदुर कृष्ण महराको भनाइ छ।
हरेक जाडो याममा रौतहट सहित तराई मधेश क्षेत्रमा निकै दिनसम्म पनि सितलहर चलेर घाम नदेखिने हुँदा चिसोको कहर हुने गरेको छ। यो चिसोमा शितलहरका कारण मानिससँगै पशु चौपाया र कृषि बालीमा पनि असर गरेको छ। चिसोका कारण सबभन्दा बढी बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ।
चिसोबाट बच्नका लागि तातो झोलिलो खाने र न्यानो युक्त कपडा लगाउन तथा अत्यावश्यक काम बाहेक बाहिर फेर हिँडडुल नगर्न आम सर्वसाधारणलाई स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। बाक्लो हुस्सु तथा शितलहरका कारण मधेशका जिल्लाका हवाई उडान प्रभावित भएको छ। सिमरा विमानस्थलका अनुसार शनिबार दिउँसो १ बजेदेखि मात्र हवाई उडान भएको हो। चिसोका कारण अस्पतालहरूमा बिरामीको चाप देखिन्छ।
पुष ५, २०८२ शनिबार १९:२४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।