एमाले महाधिवेशनमा 'शक्ति दुरुपयोग' भएको पोखरेल पक्षको निष्कर्ष : मुद्दा नछाड्ने, एकता नभत्काउने
काठमाडौं : एमाले नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ।
शनिबार काठमाडौंमा आयोजित ईश्वर पोखरेल पक्षको भेलाले पार्टीभित्र महाधिवेशनमा उठाएका पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवादको आधारमा पार्टी निर्माण, नेतृत्व निर्माण, पार्टीको आन्तरिक लोकतान्त्रीकरण लगायतका विषयहरूलाई निरन्तर पार्टीको विधि विधानभित्र बसेर उठाउने निर्णय गरेको पार्टीका उपमहासचिव योगेश भट्टराईले जानकारी दिए।
उनले भने, ‘हाम्रो यो भेलाले नेकपा एमालेलाई थप एकताबद्ध र सुदृढ बनाउनको लागि हाम्रोतर्फबाट भूमिका खेल्ने निर्णय गरेका छौं। पार्टीभित्र हामीले महाधिवेशनमा उठाएका मुद्दाहरूलाई ती विचार भनेको पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवादको आधारमा पार्टी निर्माण, नेतृत्व निर्माण, पार्टीको आन्तरिक लोकतान्त्रीकरण लगायतका विषयहरूलाई निरन्तर पार्टीको विधि विधानभित्र बसेर पार्टीभित्र निरन्तर उठाउने निष्कर्ष पनि निकालेका छौं।’
उनले पार्टीका विभिन्न तहहरूमा आफ्ना विचार सम्प्रेषण गर्ने र छलफल गर्ने निर्णय गरेको पनि बताए। प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहरूले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भीर प्रश्नहरू उठाएको भन्दै महाधिवेशनमा पार्टी संरचनाहरूको दुरुपयोग गरिएको पनि उनको भनाई छ।
उनले भने, ‘प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहरूले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भीर प्रश्नहरू उठाएको छ। पार्टी संरचनाहरूको दुरुपयोग गरिएको छ। यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौं।’
पुष ५, २०८२ शनिबार १८:११:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।