क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको तीन महिनापछि बल्ल बिक्रीमा, तोकियो दुई थरी मूल्य

क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको तीन महिनापछि बल्ल बिक्रीमा, तोकियो दुई थरी मूल्य

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको तीन महिनापछि बल्ल क्रिकेट समर्थकहरूले खरिद गर्न पाउने भएका छन्।

टी-१० स्पोर्ट्सको नेपाल प्रतिनिधि भाटभटेनी होल्डिङ्सले शुक्रबारदेखि आधिकारिक रूपमा जर्सी बिक्री सुरू गरेको जानकारी दिएको हो। होल्डिङ्सका निर्देशक आलोकजंग जोशीले शनिबार उकेरासँग कुरा गर्दै तीन महिनाको अन्तरालपछि फ्यानका लागि जर्सी उपलब्ध गराइएको बताए।

‘क्यान र खेलाडीहरूका लागि हामीले यसअघि नै जर्सी उपलब्ध गराइरहेका थियौँ, तर फ्यानका लागि भनेर हिजोबाट बिक्री खुला गरेका छौँ’, निर्देशक जोशीले भने।

आधिकारिक च्यानलबाटै जर्सीको बिक्री बढोस् भन्नका लागि क्यान र टी१० स्पोर्ट्सले यसपटक शोरुमबाट दुई किसिमका जर्सी खरिद गर्न पाउनेछन्। फ्यान जर्सीकाको मूल्य केही कम छ भने खेलाडीले लगाउने अथेन्टिक जर्सीको मूल्य लगभग दोब्बर छ।

होल्डिङ्सका निर्देशक जोशीका अनुसार यसपटक फ्यान जर्सीको १५ सय ९९ रुपैयाँ र खेलाडीले लगाउने अथेन्टिक जर्सीको मूल्य ३४ सय ९९ रुपैयाँ राखिएको छ। यी जर्सीहरू भाटभटेनीका सबै स्टोरहरूमा उपलब्ध हुने उनले बताए।

दशैंअघि नै वेस्ट इन्डिजसँगको सिरिजका क्रममा क्यानले टी-१० स्पोर्ट्स र भाटभटेनी होल्डिङ्ससँग दुई वर्षका लागि जर्सी प्रायोजन सम्झौता गरेको थियो। सम्झौता भएको लामो समय बितिसक्दा पनि भारतमा उत्पादन हुने यी जर्सीहरू नेपाल ल्याउन ढिलाइ भएको थियो।

यसअघि निर्देशक जोशीले बाटोको अवस्था र चाडपर्वका कारण जर्सी ल्याउन नसकिएको र तिहारलगत्तै उपलब्ध हुने बताएका थिए। मूल्य निर्धारण र क्यानसँगका केही सम्झौताका विषयहरू टुंगिन बाँकी रहेकाले पनि बिक्रीमा ढिलाइ भएको उनले स्वीकार गरेका थिए।

क्यानले असोज ७ गते साँझ सामाजिक सञ्जालमार्फत नयाँ जर्सी सार्वजनिक गरेको थियो। जर्सीको रङ गाढा निलो र रातोको संयोजनमा थियो। यसअघि पहेँलो रङको सट्टा नाम लेख्न सेतो रङ प्रयोग गरिएको छ।

जर्सीको काँधको एकतर्फ नेपालको झण्डाको चन्द्र र अर्कोतर्फ सूर्य अंकित छ। जर्सीको तल्लो भागमा सगरमाथाको संकेत राखिएको छ। जर्सीको बीच भागमा मुख्य प्रायोजक ‘नासा सेक्युरिटीज’को लोगो छ।

नेपाली टोलीले यही नयाँ जर्सी लगाएर वेस्ट इन्डिजविरुद्धको घरेलु टी-२० सिरिज, ओमानमा भएको टी-२० विश्वकप ग्लोबल क्वालिफायर्स र युएईमा भएको आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेलिसकेको छ।

अब यही जर्सी लगाएर खेलाडीहरूले भारतमा फागुनमा हुने विश्वकप पनि खेल्नेछन्।

पुष ५, २०८२ शनिबार १३:३४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।