चप्पल पड्काउँदै स्कुल, जग्गा बेचेर एमडी : गाउँमै जीवन बाँडिरहेका रामविश्वासको डाक्टरी अनुभव

चप्पल पड्काउँदै स्कुल, जग्गा बेचेर एमडी : गाउँमै जीवन बाँडिरहेका रामविश्वासको डाक्टरी अनुभव

काठमाडौं : सर्लाहीको चन्द्रनगर, जहाँका धुले सडक र सामान्य खेतीकिसानी गर्ने दनुवार बस्तीमा हुर्किएका एउटा ठिटोले कहिल्यै सोचेको थिएन- एकदिन ऊ सेतो एप्रन लगाएर स्टेथोस्कोप घाँटीमा भिर्ला।

जसको खुट्टामा १० कक्षा पढ्दासम्म गतिलो जुत्ता थिएन, चप्पल पड्काउँदै र पुराना लुगा टालेरै बाल्यकाल बिताए, तिनै रामविश्वास राय आज ‘डा. रामविश्वास राय दनुवार’ बनेर हजारौं आमा र नवजात शिशुको जीवन बचाइरहेका छन्।

विगत सम्झँदा डा. रामविश्वास अहिले पनि भावुक बन्छन्। उनी कहिलेकाहीँ आफ्नै वर्तमानलाई देखेर चकित पर्छन्। अभावै अभावको खाडलबाट निस्किएर चिकित्सा विज्ञानको विशेषज्ञतासम्मको यो यात्रा कुनै चलचित्रको कथाभन्दा कम छैन।

लगनशीलता र अठोटले मानिसलाई कहाँबाट कहाँ पुर्याउँछ भन्ने ज्वलन्त उदाहरण हुन् उनी। प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत उनी अक्सर भन्ने गर्छन्, ‘पैसा नभए पनि लगनशीलता र धैर्य भयो भने डाक्टर पढ्न सकिँदो रहेछ।’

उनको यो वाक्यमा जति सरलता छ, त्यसभन्दा सयौँ गुणा बढी संघर्षको कथा लुकेको छ, जुन उनले उकेरासँग साटेका छन्।

एक १४ वर्षीया बालिका र डाक्टरको धर्मसंकट
चिकित्सकीय जीवनका अनेकौं आरोह-अवरोहमध्ये डा. रामविश्वासको मानसपटलमा गढेको एउटा घटना छ, जसले उनलाई लामो समयसम्म झस्क्याइरह्यो। घटना केही समयअघिको हो। अस्पतालको ओपीडीमा १४ वर्षकी एक कलिली बालिकालाई लिएर उनकी आमा र हजुरआमा आइपुगे।

किशोरीको पेट अस्वाभाविक रूपमा बढेको त थिएन, तर समस्या अनौठो थियो। आमा र हजुरआमाको चिन्ता थियो- ‘छोरीको रजस्वला नभएको सात महिना भयो, कतै केही रोग पो लाग्यो कि?’

१४ वर्षको उमेर, भर्खर किशोरावस्थामा प्रवेश गर्दै गरेकी बालिका। सुरुमा डा. रामविश्वासले सोचे, ‘भर्खर रजस्वला सुरु हुने उमेर हो, हर्मोनको गडबडीले रोकिएको हुनसक्छ।’ यो सामान्य चिकित्सकीय अनुमान थियो।

तर, जब उनले बालिकाको शारीरिक जाँच गरे।  उनको मनमा चिसो पस्यो। डाक्टर विश्वासलाई कतै बालिका गर्भवती त भइनन्? भन्ने शंका लाग्यो। यो शंका पुष्टि गर्न उनलाई निकै अप्ठ्यारो महसुस भयो।

आमा र हजुरआमाको अगाडि एउटी अबोध बालिकालाई ‘तँ गर्भवती छस्?’ वा ‘यौन सम्पर्क भएको छ?’ भनेर सोध्ने आँट उनले गर्न सकेनन्। समाजको संरचना र बालिकाको मनोविज्ञानलाई उनले बुझेका थिए।

अन्ततः उनले कूटनीतिक बाटो अपनाए। उनले भिडियो एक्स-रे गराउने सल्लाह दिए। जब रिपोर्ट उनको हातमा पर्यो, उनको शङ्का यथार्थमा बदलियो। रिपोर्टले देखायो- ती १४ वर्षीया बालिका सात महिनाकी गर्भवती थिइन्। डा. रामविश्वास आफैँ छाँगाबाट खसेजस्तै भए। सात महिनाको गर्भ! अब यो खबर ती आमा र हजुरआमालाई कसरी सुनाउने?

उनले बालिकाका अभिभावकलाई छुट्टै कोठामा बोलाए। भूमिका नबाँधी यथार्थ सुनाइदिए। खबर सुन्नासाथ आमा र हजुरआमाको अनुहारको रङ उड्यो, उनीहरू त्यहीँ ढल्ला झैँ भए। अस्पतालको त्यो कोठामा एक्कासी सन्नाटा छायो। डा. रामविश्वासले चिकित्सक हुनुको नाताले मात्र होइन, एक अभिभावकको रूपमा उनीहरूलाई सम्हाले।

उनले सम्झाए, ‘जे नहुनु भइसक्यो, अब आत्तिएर हुँदैन। सात महिना भइसकेकाले यहाँ सामान्य गर्भपतन सम्भव छैन, तर कानुनले यस्तो अवस्थामा विशेष व्यवस्था गरेको छ। ठूलो अस्पतालमा गएर कानुनी प्रक्रिया पुर्याई गर्भपतन वा प्रसूति गराउन सकिन्छ।’

पछि बुझ्दै जाँदा खुल्यो- ती बालिकालाई नाता पर्ने नजिककै पुरुषले ललाईफकाई गर्भवती बनाएको रहेछ। हाडनाता करणी र बालयौन दुर्व्यवहारको त्यो घटनाले डा. रामविश्वासको मन अझै पोल्छ।

समाजको यो कुरूप अनुहार र चेतनाको अभाव देख्दा उनी चिन्तित हुन्छन्। सर्लाहीको लालबन्दी नगर अस्पतालमा यस्ता थुप्रै अविवाहित वा कलिला उमेरका किशोरीहरू गर्भपतनका लागि आउने गरेको तितो यथार्थ उनले भोगिरहेका छन्।

नवजात शिशुको अनुहार नदेखि सुत्केरीले प्राण त्यागिन्
सफलता र खुसी मात्र होइन, चिकित्सकको जीवनमा असफलता र शोकका क्षणहरू पनि आउँछन्, जुन बिर्सन चाहेर पनि सकिँदैन। नेपालगञ्ज मेडिकल कलेजमा एमडी अध्ययन गर्दाको एउटा घटना डा. रामविश्वासका लागि अझै पनि आलो घाउजस्तै छ।

करिब चार वर्षअघिको कुरा हो। मुगु वा सुर्खेततिरबाट एक २५ वर्षीया गर्भवतीलाई अन्तिम अवस्थामा रिफर गरेर ल्याइएको थियो। उनी मुटुरोगी थिइन्। व्यथाले च्यापेर अस्पताल आइपुग्दा आमाको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भइसकेको थियो। आमा र बच्चा दुवैलाई बचाउनु फलामको चिउरा चपाउनु सरह थियो।

चिकित्सकको टोलीले तत्काल निर्णय लियो- अप्रेशन गरेर बच्चा निकाल्ने। डा. रामविश्वाससहितको टोलीले हतारहतार शल्यक्रिया गर्यो। बच्चा सकुशल जन्मियो। तर, आमाको अवस्था बिग्रँदै गयो। आईसीयूमा राखेर भेन्टिलेटरको सहायताले बचाउने हरसम्भव प्रयास गरियो। तर, नियतिका अगाडि विज्ञानको केही जोर चलेन।

सुत्केरी भएको केही समयमै ती आमाका शरीरका अंगहरूले काम गर्न छाडे। आफूले नौ महिना गर्भमा बोकेको सन्तानको अनुहारसमेत हेर्न नपाई ती युवा आमाले सधैँका लागि आँखा चिम्लिन्।

एकातिर नवजात शिशुको रोदन गुञ्जियो, अर्कोतिर आमाको मृत्युको सन्नाटा। नवजात अवस्थामा नै ‘टुहुरो’ बनेको त्यो शिशुलाई बचाएर घर पठाउँदा डा. रामविश्वासको मन भारी भएको थियो।

उनी भन्छन्, ‘हामीले बच्चा त बचायौँ, तर आमालाई बचाउन नसक्दाको पीडा शब्दमा बयान गर्न सकिँदैन।’

एसएलसीमा अकल्पनीय सफलता
डा. रामविश्वासको यो यात्रा सर्लाहीको चन्द्रनगर गाउँपालिका-७ को एउटा विपन्न दनुवार परिवारबाट सुरु हुन्छ। वि.सं. २०४४ सालमा जन्मिएका उनी सीमान्तकृत समुदायका प्रतिनिधि पात्र हुन्।

बुवाआमा सामान्य लेखपढ पनि गर्न जान्दैनथे। परिवारको गुजारा खेतीपातीमै निर्भर थियो। छ जना दिदीबहिनी र दुई दाजुभाइमध्येका कान्छा रामविश्वासमा सानैदेखि पढाइप्रतिको अदम्य भोक थियो।

गरिबी यति थियो कि, स्कुल जाँदा लगाउने जुत्ता हुँदैनथ्यो। फाटेका चप्पल पड्काउँदै र टालेका लुगा लगाएरै उनले कक्षा १० सम्मको पढाइ पूरा गरे। तर, अभावले उनको मेधावी क्षमतालाई छेक्न सकेन। कक्षा ५ देखि लालबन्दीको जनज्योति उच्च माविमा पढेका उनी सधैँ कक्षामा प्रथम हुन्थे।

सङ्घर्षको फल मीठो हुन्छ भने झैँ, २०६१ सालको एसएलसी परीक्षामा उनले नसोचेको नतिजा ल्याए। ८४.५ प्रतिशत अंकसहित उनी सर्लाही जिल्ला टप गर्न सफल भए। त्यो समयमा सरकारी विद्यालयबाट, त्यसमाथि सीमान्तकृत दनुवार समुदायबाट जिल्ला प्रथम हुनु चानचुने कुरा थिएन।

स्थानीय पत्रपत्रिकामा ‘एसएलसीमा तीन मावि नील, दनुवार जिल्ला प्रथम’ भन्ने शीर्षकमा उनको तस्बिरसहितको समाचार छापियो। त्यो दिन उनी एकाएक ‘सेलिब्रेटी’ बने। गुरुहरू, साथीभाइ र गाउँलेको स्याबासीको ओइरो लाग्यो।

खुसीसँगै आएको त्यो चिन्ता
जिल्ला टप गरेको खुसी लामो समय टिक्न पाएन। रामविश्वासको मनमा डाक्टर बन्ने सपनाको बीजारोपण भइसकेको थियो, तर खल्ती रित्तो। ‘टपर त भइयो, अब प्लस टु पढ्ने पैसा कहाँबाट ल्याउने?’ यो प्रश्नले उनलाई निदाउन दिएन। उनको पढाइमा पूर्णविराम लाग्ने डर थियो।

तर, सञ्चारमाध्यमले उनको जीवनमा सारथीको भूमिका खेल्यो। आर्थिक अभावका कारण जिल्ला टपरको पढाइ रोकिन लागेको समाचार प्रकाशित भएपछि ललितपुरको ‘आइन्सटाइन एकेडेमी’ले उनको हात समात्यो।

कलेजले उनलाई काठमाडौं बोलाएर खान, बस्न र पढ्ने सबै सुविधासहित पूर्ण छात्रवृत्ति दिने घोषणा गर्यो। गाउँको एउटा ठिटो, सपनाको सहर काठमाडौं छिर्यो। त्यहाँ पनि उनले आफ्नो साख गिर्न दिएनन्। विज्ञान संकायमा ७२.३ प्रतिशत अंक ल्याएर कलेज टपर बन्दै उनले आफ्नो क्षमता पुनः प्रमाणित गरे।

विना पैसा एमबीबीएस, जग्गा बेचेर एमडी
प्लस टु सकियो, तर डाक्टर बन्ने सपना र आर्थिक हैसियतबीचको पर्खाल अझै अग्लो थियो। लाखौँ रुपैयाँ खर्च गरेर एमबीबीएस पढ्ने हैसियत उनको परिवारको थिएन। विकल्प एउटै थियो- सरकारी छात्रवृत्ति।

काठमाडौंमा डेरा लिएर उनले तयारी सुरू गरे। सजिलो थिएन। सुरूमा नाम निस्किएन। तर, उनले हार मानेनन्। निरन्तरको प्रयासपछि सन् २००९ मा शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भए। चितवनको कलेज अफ मेडिकल साइन्सेस, भरतपुरमा उनको एमबीबीएस यात्रा सुरू भयो।

२०७२ सालमा डाक्टर बनेर निस्कँदा देश विनाशकारी भूकम्पको चपेटामा थियो। सरकारी छात्रवृत्तिको सर्तअनुसार उनले भूकम्प प्रभावित मकवानपुरको छतिवन प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष करारमा सेवा गरे। डाक्टर बस्न नमान्ने त्यो दुर्गम ठाउँमा उनले दुई वर्षसम्म इमानदारीपूर्वक बिरामीको सेवा गरे।

तर, रामविश्वासको सपना एमबीबीएसमा मात्र सीमित थिएन। उनी विशेषज्ञ बन्न चाहन्थे। ‘एमडी’ पढ्न फेरि ठूलो रकमको आवश्यकता थियो। छात्रवृत्तिमा नाम ननिस्कँदा के गर्ने? दुविधा भयो- पहिले पैसा कमाउने कि पढ्ने? उनले पढाइलाई नै रोजे।

इजिप्टमा छात्रवृत्ति पाउने अवसर भए पनि उनले नेपालमै पढ्ने निधो गरे। अन्ततः काठमाडौं विश्वविद्यालय अन्तर्गत नेपालगञ्ज मेडिकल कलेजमा ‘प्रसूति तथा स्त्रीरोग’ विषयमा एमडी गर्न थाले। यसपटक भने छात्रवृत्तिले मात्र पुगेन। करिब २२ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने भयो।

छोराको डाक्टर बन्ने सपना पूरा गर्न उनका बुवाआमाले पुर्ख्यौली जग्गा बेचे। बुवाआमाको त्यही त्याग र पसिनाको बलमा २०७८ सालमा उनी ‘डा. रामविश्वास राय’ बाट ‘स्त्रीरोग विशेषज्ञ डा. रामविश्वास राय’ बने।

आफ्नै माटोको सुगन्ध : लालबन्दीमा सेवा
एमडी सकेपछि काठमाडौंका निजी अस्पताल र बर्दिया अस्पतालमा डेढ वर्ष काम गरेर अनुभव बटुलेपछि उनको मन आफ्नै जन्मथलोतिर तानियो। उनी आफू जन्मेको, हुर्केको र पढेको माटोमा सेवा गर्न चाहन्थे।

संयोग कस्तो पर्यो भने, सर्लाहीको लालबन्दी नगर अस्पतालले विशेषज्ञ चिकित्सक खोजिरहेको थियो। तर, गाउँमा गएर काम गर्न धेरै डाक्टरहरू मानिरहेका थिएनन्।

नगरपालिकाले आफ्नै ठाउँको एसएलसी टपर डाक्टरलाई खोज्यो। डा. रामविश्वासका लागि यो ‘ढुंगा खोज्दा देउता मिले’ जस्तै भयो। २०८० मंसिरदेखि उनी लालबन्दी नगर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत छन्।

उनको आगमनसँगै अस्पतालको मुहार फेरिएको छ। सीमित स्रोत साधनका बाबजुद उनको नेतृत्वमा अस्पतालले मधेश प्रदेशकै उत्कृष्ट स्थानीय अस्पतालको पहिचान बनाएको छ।

गत वर्ष मात्रै यो अस्पतालमा करिब ११ सय ५० जनाको प्रसूति गराइएको छ भने ५०० भन्दा बढी जटिल अवस्थाका गर्भवतीको शल्यक्रियामार्फत सुत्केरी गराएर आमा र बच्चाको ज्यान बचाइएको डा. रामविश्वासले सुनाए।

विगत सम्झँदा भावुक...
विगतलाई फर्केर हेर्दा डा. रामविश्वासलाई अहिले पनि सपनामा उडिरहको छु कि जस्तो लाग्छ। १० कक्षामा पढ्दा चप्पल पड्काउँदै हिँड्ने त्यो फुच्चे आज हजारौँको जीवन बचाउने डाक्टर बनेको छ।

उनी भन्छन्, ‘छात्रवृत्ति नपाएको भए, मिडियाले मेरो व्यथा नलेखिदिएको भए र आमाबुवाले जग्गा नबेचिदिएको भए आज म यहाँ हुने थिइनँ।’

सम्भवतः सर्लाही जिल्लाकै दनुवार समुदायबाट पहिलो डाक्टर बनेका उनी अहिले नर्सिङ पेसामा रहेकी श्रीमतीसँगै सरकारी सेवामा छन्।

सीमान्तकृत समुदाय, गरिबी र अभावलाई जित्दै शिखरमा पुगेका डा. रामविश्वास राय अहिले केवल एक चिकित्सक मात्र होइनन्, उनी सङ्घर्ष र सफलताका प्रेरणामा पनि हुन्।

सम्भवत: सर्लाही जिल्लाकै दनुवार समुदायबाट रामविश्वास पहिलो डाक्टर हुन्। ‘दनुवार समुदायबाट भने छात्रवृतिमा डाक्टर पढ्ने नेपालकै दोस्रो, तेस्रोमा पर्छु होला’, उनले भने।

उनका अनुसार सर्लाही जिल्लामा दनुवार समुदायबाट करिब आधा दर्जन डाक्टर बने होलान्।

पुष ५, २०८२ शनिबार १३:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।