चितवनको जुगेडीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चितवन : चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडीस्थित मुग्लिन-नारायणगढ सडकखण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका-८ का ३२ वर्षीय अनिष नेपाल रहेका छन्।
प्रहरीका अनुसार, शनिबार बिहान करिब २:१५ बजे नवलपरासीबाट सिमेन्ट लोड गरी काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ४४२७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१-००८ प ६२९३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक नेपाललाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान ३:३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटना लगत्तै प्रहरी चौकी जुगेडीबाट प्रहरी नायब निरीक्षक यम प्रसाद सापकोटाको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको व्यवस्थापन गरेको थियो।
प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालक धनुषाको धनुषाधाम नगरपालिका-६ बस्ने २४ वर्षीय रबिन बल तामाङलाई नियन्त्रणमा लिएको छ।
हाल सडक अवरोध नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पुष ५, २०८२ शनिबार ११:०७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।