तनहुँ कारागारबाट फरार ६८ कैदीबन्दी अझै सम्पर्कविहीन
तनहुँ : गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्।
प्रहरीका अनुसार घटनाका क्रममा कारागारबाट निस्किएका ३२७ जनामध्ये हालसम्म २५९ जना मात्र कारागार फर्किएका छन्।
आन्दोलन भएको तीन महिना बितिसक्दा पनि बाँकी ६८ जना फरार नै रहेकाले उनीहरूको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकका अनुसार केही कैदीबन्दी आफूखुसी कारागार फर्किएका छन् भने कतिपयलाई प्रहरीले खोजी गरी पक्राउ गरिरहेको छ।
यसैक्रममा, फरार रहेका गोरखा पालुङटार नगरपालिका-७ का २२ वर्षीय सुमन परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
नकवजनी चोरी मुद्दामा सजाय काटिरहेका परियारलाई तनहुँबाट खटिएको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि पुनः कारागार पठाएको डीएसपी विकले जानकारी दिए।
पुष ५, २०८२ शनिबार ०९:४६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।