आइतबार दोस्रो विश्व ध्यान दिवस मनाइने, नेपाललाई ‘ध्यानको राजधानी’ बनाउन आनन्द अरुणको जोड

आइतबार दोस्रो विश्व ध्यान दिवस मनाइने, नेपाललाई ‘ध्यानको राजधानी’ बनाउन आनन्द अरुणको जोड

काठमाडौं : संयुक्त राष्ट्र संघद्वारा घोषित ‘विश्व ध्यान दिवस’को अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रम आयोजना गरिने भएको छ।

दिवसको पूर्वसन्ध्यामा आज ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलनमा बोधिसत्त्व स्वामी आनन्द अरुणले नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’का रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

गत वर्ष संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएसँगै टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो। यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै स्वामी आनन्द अरुणले ११ वर्षको निरन्तर प्रयासपछि राष्ट्र संघले ध्यान दिवसलाई मान्यता दिएको स्मरण गरे।

‘सन् २०१४ देखि नै हामीले यो प्रस्ताव अघि बढाएका थियौँ । गत वर्ष डिसेम्बर ७ मा राष्ट्र संघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि यो सपना पूरा भयो,’ उनले भने, ‘यो नेपाल र नेपालीका लागि गर्वको विषय हो।’

ध्यानको उद्गमस्थल भारतीय उपमहाद्वीप र हिमालय क्षेत्र भएकाले नेपालसँग ‘ध्यानको राजधानी’ बन्ने प्रचुर सम्भावना रहेको स्वामी अरुणको भनाइ छ।

उनले भने, ‘अहिले मुस्लिम देशहरूले समेत ध्यानलाई धर्म नभएर विज्ञानका रूपमा स्वीकारिसकेका छन्। तपोवनमा मात्रै ११० भन्दा बढी देशका साधकहरू आइसकेका छन्। अब राज्यले नै अपनत्व लिएर नेपाललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ।’

हाल नेपालमा ओशो तपोवनका ९० वटा सेन्टर सञ्चालनमा छन् भने अमेरिका, अष्ट्रेलिया, रुस लगायतका देशमा पनि यसका शाखाहरू विस्तार भइसकेका छन्।

‘जेन-जी’ आन्दोलन र राजनीतिक अस्थिरताप्रति चिन्ता

कार्यक्रममा स्वामी आनन्द अरुणले देशको समसामयिक परिस्थिति र पछिल्लो समय भएको ‘जेन-जी’ आन्दोलनप्रति पनि आफ्नो धारणा राखे। देशमा व्याप्त राजनीतिक अस्थिरता र नेतृत्व वर्गको अदूरदर्शिताका कारण युवा पुस्तामा असन्तुष्टि बढेको उनको विश्लेषण छ।

‘प्राकृतिक स्रोतसाधनले हामी धनी छौं, तर सुनखानीमा बसेर भिख मागिरहेका छौं,’ उनले टिप्पणी गर्दै भने, ‘प्रभुत्व वर्गले विचार नपुर्याउँदा देशमा अशान्ति छ। ध्यानले नकारात्मक ऊर्जा हटाएर समाजमा शान्ति स्थापना गर्न मद्दत गर्छ।’

उनले आइतबार टुँडिखेलमा हुने विश्व ध्यान दिवसको कार्यक्रममा सहभागी भएर ऐक्यबद्धता जनाउन र ध्यानको लाभ लिन सबैलाई आग्रह समेत गरे।

पुष ४, २०८२ शुक्रबार १९:२४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।