११ तस्बिरमा हेर्नुहोस् एमाले नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक

११ तस्बिरमा हेर्नुहोस् एमाले नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको छ।

अध्यक्ष केपी शर्मा ओलीले संक्षिप्त सम्बोधनबाट सुरु भएको बैठकमा त्यसपछि महासचिव शंकर पोखरेलले एजेन्डा पेस गरेका छन्। पोखरेलले पेस गरेको एजेन्डा महाधिवेशन स्थलमा शपथग्रहण गर्न छुटेका पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराइने छ। 

त्यस्तै, विधान सम्पादन तथा प्रकाशनसम्बन्धी विषयमा छलफल हुने, पार्टीभित्रको कार्य विभाजनका लागि केन्द्रीय सचिवालयलाई अख्तियारी प्रदान गर्ने, सल्लाहकार परिषद् गठनसम्बन्धी नीतिगत निर्णय गर्ने तथा केन्द्रीय कमिटीको दोस्रो बैठक आयोजना गर्ने मिति तोक्ने एजेन्डा समेत तय गरिएको छ।

ललितपुरको च्यासलमा रहेको एमालेको केन्द्रीय कार्यालयमा मर्मत सम्भारको काम भइरहेकोले नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक कार्की ब्यांक्वेटमा बसेको हो।  गत भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा आक्रोशित समूहले च्यासलस्थित कार्यालयमा प्रवेश गरी आगजनी र तोडफोड गरेको थियो। 

महाधिवेशनमा नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र नेता ईश्वर पोखरेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा गरेका थिए। महाधिवेशनबाट केन्द्रीय कमिटीमा अध्यक्ष ओली पक्षको स्पष्ट वर्चस्व कायम भएको छ। ३०१ सदस्यीय कमिटीमा ओली पक्षका सदस्यहरूको बहुमत रहेकोले एमालेको आगामी पाँच वर्षको कमान्डमा ओलीको पकड थप बलियो देखिएको छ।

पुष ४, २०८२ शुक्रबार १६:४२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।