महिलालाई ‘वेश्या’ भन्दै अश्लील सन्देश पठाएको अभियोग लागेका अरनिको पाँडे रास्वपाको समानुपातिक सूचीमा

महिलालाई ‘वेश्या’ भन्दै अश्लील सन्देश पठाएको अभियोग लागेका अरनिको पाँडे रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा डा. अरनिको पाँडेको नाम समावेश भएपछि पार्टीको उम्मेदवार चयन प्रक्रियामाथि प्रश्न उठेको छ।

एक महिलालाई अश्लील इमेल पठाएको गम्भीर आरोपमा प्रहरी हिरासतमा परी भर्खरै धरौटीमा रिहा भएका पाँडेलाई रास्वपाले सांसद बन्ने सूचीमा समेटेको हो। उनी बागमती प्रदेशको ललितपुर जिल्लाबाट खस आर्य कोटातर्फको उम्मेदवारका लागि प्रारम्भिक सूचीमा परेका हुन्।

साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौं जिल्ला अदालतले भदौ १३ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज र अश्लील सन्देश पठाएको उजुरीका आधारमा उनी भदौ ११ गते पक्राउ परेका थिए। अदालतको आदेशले हिरासतबाट मुक्त भए लगत्तै उनी रास्वपाको समानुपातिक सांसदको दौडमा अग्रपंक्तिमा देखिएका छन्।

वातावरणविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका पाँडेमाथि एक महिलालाई मानसिक यातना दिएको आरोप थियो। पीडित महिलाले ह्वाट्सएपमा ब्लक गरेपछि पाँडेले इमेलमार्फत ‘वेश्या’ शब्द प्रयोग गर्दै अश्लील सन्देश पठाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

प्रहरीसँगको बयानमा पाँडेले उक्त इमेल आईडी आफ्नै भएको र सन्देश आफैँले पठाएको हुनसक्ने स्वीकार गरेका थिए। उनीविरुद्ध ५ वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवानाको मागदाबीसहितको मुद्दा चलेको थियो।

‘जान्नेलाई छान्ने’ र विधिको शासनको वकालत गर्ने दाबी गर्ने रास्वपाले गम्भीर नैतिक पतन देखिने फौजदारी अभियोगमा धरौटीमा छुटेका व्यक्तिलाई तत्कालै उम्मेदवारको सूचीमा राखेपछि पार्टीभित्रै र बाहिर आलोचना सुरू भएको छ।

सम्बन्धित समाचार:

पुष ४, २०८२ शुक्रबार १४:२५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।