अञ्जनाले २५ लाख ‘डिमाण्ड’ गर्नु के आश्चर्य भो र !

अञ्जनाले २५ लाख ‘डिमाण्ड’ गर्नु के आश्चर्य भो र !

काठमाडौं : नेपाली रजतपटमा कलाकारको पारिश्रमिकको किस्सा कहिल्यै पुरानो हुँदैन।

एउटा जमाना थियो- राजेश हमाल ‘दुई लाखबाट एक रुपैयाँ पनि घट्दिनँ’ भन्थे । त्यो जमानामा रेखा थापा, निखिल उप्रेती र विराज भट्टका पारिश्रमिकका गफ चिया पसलदेखि भट्टीसम्म चल्थे।

समय फेरियो, भाउ पनि फेरियो। अनमोल केसीको ५० देखि ७० लाख लिएको विषय समेत पुरानो भइसकेको बेला हिरोइनहरूको बजारमा पनि ‘२० लाखे क्लब’को हल्ला छ।

‘प्रेम गीत’ हिट भएपछि पूजा शर्माले २० लाखको ढोका खोलिन् भन्ने चर्चा चल्यो। त्यसपछि त के चाहियो र? स्वस्तिमा खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह हुँदै केकी अधिकारीसम्मले २० लाखको दाबी पेश गर्न थाले रे!

यही २० लाखे भिडमा अब एउटा नयाँ नाम थपिएको चर्चा छ- अञ्जना बराईली। ‘महापुरुष’बाट सिने क्षेत्रमा इन्ट्री मारेकी अञ्जनाले ‘पुजार सार्की’, ‘पूर्ण बहादुरको सारंगी’ र ‘परान’ जस्ता ब्याक-टु-ब्याक हिट फिल्म दिइन्।

हालै प्रदर्शनको तयारीमा रहेको ‘परिवर्तन’मा २० लाख बुझेको हल्ला सेलाउन नपाउँदै, उनले अब नयाँ फिल्मका लागि ५ लाख बढाएर ‘२५ लाख’ को डिमाण्ड राख्न थालेको गाइँगुइँ सुनिन थालेको छ।

अञ्जनाले २५ लाख माग्नुमा ‘पूर्ण बहादुरको सारंगी’ को सफलताको हात होला। तर, उनकै अभिनय रहेको फिल्म ‘डोरी’का निर्माताको हरिबिजोग भएको त धेरै भएको छैन। फिल्म हिट हुन कलाकारको अनुहार मात्र होइन, गतिलो टिम र कन्टेन्ट पनि चाहिन्छ भन्ने कुरा ‘डोरी’ले देखाइसक्यो।

यदि अञ्जनाले २५ लाख नै मागेकी हुन् भने पनि निर्माता-निर्देशकले टाउको किन दुखाउने? बजारमा विकल्पको कमी त पक्कै छैन। २५ लाख महँगो लाग्यो भने अर्कोलाई साइन गराए भइहाल्यो नि! मागे जति दिन नसक्ने अनि बजारमा हल्ला मात्र फिँजाउने काम चैँ अलि शोभनीय भएन है!

पुष ४, २०८२ शुक्रबार १२:३५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।