तेस्रो एशेज टेस्टमा ट्राभिस हेडको शतक, अष्ट्रेलिया बलियो स्थितिमा
काठमाडौं : अष्ट्रेलियाका ब्याट्सम्यान ट्राभिस हेडले एशेज सिरिज अन्तर्गतको तेस्रो टेस्टमा शानदार शतक प्रहार गरेका छन्।
शुक्रबार एडिलेड ओभलमा जारी खेलको तेस्रो दिन हेडले आफ्नो टेस्ट करियरको ११औं शतक पूरा गरेका हुन्।
यसअघि टेस्ट क्रिकेटमा १० वटा शतक बनाइसकेका हेडले इंग्ल्यान्डका बलरहरू विरुद्ध आक्रामक ब्याटिङ गर्दै यो कोसेढुङ्गा पार गरेका हुन्। उनले १४६ बलमा ८ चौका र २ छक्काको मद्दतले शतक पूरा गरेका थिए।
तेस्रो दिनको खेल समाप्त हुँदा हेड १०४ रनमा अविजित रहेका छन् । उनले १५१ बल सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरिसकेका छन्।
ट्राभिस हेडको शतकको मद्दतले अष्ट्रेलियाले दोस्रो इनिङमा बलियो पकड जमाएको छ।
तेस्रो दिनको समाप्तिसम्म अष्ट्रेलियाले ४ विकेटको क्षतिमा २०८ रन बनाएको छ। पहिलो इनिङको अग्रतासहित अष्ट्रेलियाले इंग्ल्यान्डमाथि कुल २९३ रनको अग्रता कायम गरेको छ।
दोस्रो इनिङमा ८ रनको अवस्थामा पहिलो विकेट गुमाएको अष्ट्रेलियाका लागि हेडले उस्मान ख्वाजा (४०) र मार्नस लाबुससेन (१३) सँग साझेदारी गर्दै इनिङ उकासेका थिए।
हाल हेडलाई एलेक्स केरी (२८ रनमा अविजित) ले साथ दिइरहेका छन् । यी दुईबीच पाँचौं विकेटका लागि ५९ रनको साझेदारी भइसकेको छ।
यसअघि तेस्रो दिन इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ २८६ रनमा टुङ्ग्याएको थियो।
इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ८३ र जोफ्रा आर्चरले ५१ रन बनाए पनि टोलीलाई ठूलो स्कोरमा पुर्याउन सकेनन्।अष्ट्रेलियाका प्याट कमिन्स र स्कट बोलान्डले ३-३ विकेट लिएका थिए।
अष्ट्रेलियाले पहिलो इनिङमा ३७१ रन बनाएको थियो। खेलमा अझै दुई दिन बाँकी छँदा अष्ट्रेलिया जिततर्फ उन्मुख देखिएको छ।
पुष ४, २०८२ शुक्रबार ११:५७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।