एमालेको ११औं महाधिवेशनमा लुम्बिनीको ‘दबदबा’ कमजोर, चार नेता मात्रै पदाधिकारीमा निर्वाचित
बुटवल : एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारीमा लुम्बिनी प्रदेशको उपस्थिति खस्किएको छ।
दशौं महाधिवेशनमा सात जना पदाधिकारीसहित बलियो ‘रेकर्ड’ कायम गरेको लुम्बिनीले यसपटक भने आफ्नो पुरानो विरासत जोगाउन सकेन।
लुम्बिनी प्रदेशबाट यसपटक आधा दर्जनभन्दा बढी नेताले पदाधिकारीमा उम्मेदवारी दिए पनि अन्तिम नतिजा आउँदा संख्यात्मक रूपमा लुम्बिनीको शक्ति घटेको देखिएको हो।
महाधिवेशनबाट लुम्बिनी प्रदेशका चार जना नेता पदाधिकारीमा निर्वाचित भएका छन्। जसमा रुपन्देहीका विष्णुप्रसाद पौडेल उपाध्यक्षमा दोहोरिएका छन् भने गुल्मीका गोकर्ण विष्ट सचिवबाट पदोन्नति हुँदै उपाध्यक्षमा निर्वाचित भएका छन्।
त्यस्तै, दाङका शंकर पोखरेल महासचिवमा र रुपन्देहीका छविलाल विश्वकर्मा सचिव पदमा निर्वाचित भएका छन्।
विद्यार्थी राजनीति हुँदै एमालेको मूलधारमा स्थापित विश्वकर्माले लामो समयदेखि पदाधिकारीमा दलित समुदायको प्रतिनिधित्व गर्दै आएका छन्।
चितवनमा सम्पन्न दशौं महाधिवेशनमा लुम्बिनीले पदाधिकारीमा ऐतिहासिक सफलता हात पारेको थियो।
तत्कालीन समयमा युवराज ज्ञवाली र विष्णु पौडेल उपाध्यक्ष, शंकर पोखरेल महासचिव, प्रदीप ज्ञवाली उपमहासचिव तथा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र टोपबहादुर रायमाझी सचिवमा निर्वाचित भएका थिए। साथै ५२ जना केन्द्रीय सदस्य र १० जना विभिन्न आयोगमा पुगेका थिए।
तर, एघारौं महाधिवेशनसम्म आइपुग्दा यो समीकरण बदलिएको छ। पूर्वसचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कारण उनी यसपटक प्रतिष्पर्धामा थिएनन्।
निर्वाचित चार जनामध्ये गोकर्ण विष्टको मात्र पदोन्नति भएको छ भने अन्य नेताहरू पुरानै पदमा कायम रहेका छन्।
यसपटक लुम्बिनीबाट पदाधिकारीमा जाने आकाङ्क्षा राखेका केही चर्चित अनुहारहरू बाहिरिएका छन्। दशौं महाधिवेशनबाट उपमहासचिव बनेका गुल्मीका प्रभावशाली नेता प्रदीप ज्ञवाली यसपटक पदाधिकारीको दौडबाट बाहिरिए।
उनी महासचिव बन्न चाहन्थे, तर अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र शंकर पोखरेल नै महासचिवमा दोहोरिने निश्चित भएपछि ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र चित्त बुझाए। उनी केन्द्रीय सदस्यमा भने फराकिलो मतले विजयी भए।
त्यस्तै, ईश्वर पोखरेल प्यानलबाट उपमहासचिव पदमा उम्मेदवारी दिएका नवलपरासीका बैजनाथ चौधरी पराजित भए। लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका चौधरीको पदाधिकारी यात्रा यसपटक सफल हुन सकेन।
अर्का युवा नेता एवं पाल्पाबाट प्रतिनिधिसभा सदस्य ठाकुर गैरे पनि सचिव पदमा पराजित भएका छन्। यद्यपि, गैरेले केन्द्रीय सदस्यमा भने जित हासिल गरेका छन्।
रुपन्देहीलाई आफ्नो राजनीतिको आधार बनाएका उपाध्यक्ष विष्णु पौडेल २०५० सालदेखि निरन्तर शक्तिको केन्द्रमा छन्। चार पटकसम्म संसदीय निर्वाचन जितेका पौडेल एघारौं महाधिवेशनबाट पनि उपाध्यक्षमै सुरक्षित भएका छन्।
उता, दाङबाट उदाएका शंकर पोखरेल अध्यक्ष ओलीको ‘ब्याकिङ’का कारण पुनः शक्तिशाली महासचिवको रूपमा स्थापित भएका छन्। २०५१ को मध्यावधि र २०७४ को प्रदेश सभाबाहेक जनमतमा केही कमजोर देखिए पनि पार्टी संगठन र वैचारिक बहसमा उनी सधैँ निर्णायक तहमा छन्।
मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) लाई समयसापेक्ष व्याख्या गर्न सिपालु मानिने पोखरेललाई अध्यक्ष ओलीले नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित हुँदा पनि स्थायी कमिटीमा राखेर महत्त्वपूर्ण जिम्मेवारी दिएका थिए।
पुष ४, २०८२ शुक्रबार ०९:२५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।