महासचिव पोखरेलको आक्रोश : भ्रष्ट र लोकतन्त्र विरोधीले युवाको भावनामा खेले
काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले केही अराजक तत्त्वहरूले युवाहरूको भावनासँग खेलेर मुलुकलाई हिंसातर्फ धकेल्ने प्रयास गरिरहेको दाबी गरेका छन्।
पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देशमा विकसित घटनाक्रमप्रति कडा आपत्ति जनाउँदै संविधान र लोकतन्त्रमाथि प्रहार भइरहेको बताए। गत भदौ २३ र २४ गतेका घटनाहरूलाई स्मरण गर्दै उनले ती दिनहरूमा राष्ट्रिय अस्मितामाथि नै नकारात्मक प्रभाव पार्ने खालका गतिविधि भएको बताए।
पोखरेलले भने, ‘गत भदौ २३ र २४ गते नेपालमा नेपालको संविधान, लोकतन्त्र राष्ट्रको अस्मिता माथि नै नकारात्मक प्रभाव पार्ने घटनाहरू घट्न पुगे। हाम्रा नवयुवाहरूको भावनामा खेलेर भ्रष्टविरोधी तत्त्वहरू, लोकतन्त्र विरोधी तत्त्वहरू, गणतन्त्र विरोधी तत्त्वहरूले मुलुकलाई हिंसात्मक बाटोतर्फ अग्रसर बनाउने काम गरे।’
उनले भर्खरै सम्पन्न महाधिवेशनलाई एमालेको इतिहासमा 'अत्यन्त उत्साहपूर्ण र ऐतिहासिक' सफलताको रूपमा चित्रण गरे। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा सञ्चार गरेको उनको दाबी थियो। उनले दशौं राष्ट्रिय महाधिवेशनदेखि आरम्भ गरिएको 'नीति र नेतृत्व' छुट्याउने परम्पराले पार्टीलाई थप लोकतान्त्रिक र विधिपरक बनाएको दाबी गरे। विधान महाधिवेशनमार्फत नीति निर्माण गर्ने र राष्ट्रिय महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने पद्धतिको सुरुवात भएको बताए।
उनले भने, ‘हामीले हाम्रो पार्टीको परम्परामा दशौं राष्ट्रिय महाधिवेशनको समयदेखि नीति र विधि निर्माण गर्नका लागि विधान महाधिवेशन नेतृत्व निर्वाचित गर्नका लागि राष्ट्रिय महाधिवेशनको परम्परा आरम्भ गरेका थियौं।’ शपथ ग्रहण समारोहसँगै ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेको छ।
पुष ३, २०८२ बिहीबार २१:२४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।