उत्तेजनाका उत्प्रेरकको नेतृत्वमा ह्याट्रिक

उत्तेजनाका उत्प्रेरकको नेतृत्वमा ह्याट्रिक
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : आठौं महाधिवेशनबाटै पार्टीको नेतृत्वमा पुग्ने प्रयास गरे पनि ओली सफल भएनन्। २०६५ मा बुटवलमा भएको महाधिवेशनमा उनी झलनाथ खनालसँग पराजित भएका थिए। त्यो बेलामा माधव नेपाल वरिष्ठ नेता बनेका थिए। नवौं महाधिवेशनमा पनि उनी पार्टी अध्यक्षको उम्मेदवार बने।

२०७१ असोजमा काठमाडौंमा भएको महाधिवेशनमा उनको प्रतिस्पर्धी भए- माधव नेपाल। बामदेव गौतमसहितको सहयोगले उनी पहिलो पटक पार्टी अध्यक्षमा निर्वाचित भए। चितवनमा भएको १०औं महाधिवेशनमा भीम रावल प्रतिस्पर्धी भए पनि सहजै पराजित गरेका ओलीले  ११औं महाधिवेशनमा सहजै ईश्वर पोखरेललाई हराएर एमाले अध्यक्षमा ह्याट्रिक गरे बिहीबार।

१०औं महाधिवेशनमा आइपुग्दा उनलाई अध्यक्ष हुन विधानले रोक्दैनथ्यो। प्रतिस्पर्धी माधव नेपाल अनि झलनाथ खनाल लगायतकाहरु एकीकृत समाजवादी बनाएर विभाजित भइसकेका थिए। पार्टीभित्र उनलाई चुनौती दिने नेता नै नदेखिए पनि रावलले सर्वसम्मत हुनबाट रोक्न उम्मेदवारी दिएका थिए।

पार्टी विधानले उनलाई तेस्रो पटक अध्यक्ष हुन रोक्थ्यो। त्यसमा ७० वर्षको उमेर हद पनि थियो। विधान अधिवेशन गराएर उनले तेस्रो पटक पार्टीको कमान्ड सम्हाल्न कानुनी अवरोधहरू पार लगाए। कुनै समयको निकट विद्यादेवी भण्डारी पूर्व राष्ट्रपति भएसँगै एमालेको सदस्यता नवीकरण गरेर नेतृत्वमा पुग्ने अभ्यासमा लागिन्। 

आफू नेतृत्वमा निरन्तर रहन ओलीले आफ्नै सहयोगी विद्याको पार्टी सदस्यता नवीकरण नगरेर बाटै रोकिदिएर पुन प्रतिष्पर्धीहीन समान बने।

अप्रत्याशित भएको जेनजी आन्दोलनको कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य मात्र भएनन् उनी बालुवाटारको सरकारी निवासबाटै भाग्नु परेको तीतो अनुभवसँगै दलहरूमा नेतृत्व परिवर्तनका लागि बढेको दबाबले तेस्रो पटक पार्टी अध्यक्ष बन्न सहज देखिएको थिएन।

पार्टीभित्र र बाहिर दुवैतिर ओलीको विपक्षमा माहोल बनिरहेको थियो। जेनजी आन्दोलनप्रति निरन्तर तिखो टिप्पणीका कारण युवा पुस्ता उनलाई एमालेको अध्यक्षमा ह्याट्रिक हान्नबाट रोक्ने प्रयासमा लाग्यो। उता भण्डारीको बाटो रोके पनि सोही समूहबाट एकाएक ईश्वर पोखरेल प्रतिस्पर्धीको रूपमा आए।

पार्टीभित्र र बाहिर दुवैतिर नकारात्मक माहौल भए पनि महाधिवेशन प्रतिनिधि आफू अनुकूल बनाउन सफल भएका ओलीलाई न नेतृत्व परिवर्तनको मुद्दाले ह्याट्रिक हान्नबाट रोक्न सक्यो न त जेनजी आन्दोलनको प्रभावले नै काम गर्यो। १०औं महाधिवेशनमा जस्तो सहज नभए पनि उनले पोखरेललाई ठुलै मतान्तरले अध्यक्षमा हराए।

अध्यक्षमा ह्याट्रिक हानेसँगै ओली बिहीबारबाटै आफ्नै लयमा फर्कँदै जेन-जी अनि वर्तमान सरकार विरुद्ध तिखो प्रहार गर्न सुरु गरिहाले। उनले जेन-जीको नाममा धम्क्याउने काम होला भनेर आफ्नै सुरक्षा समूह बनाउन अह्राए। अनि जेन-जी आन्दोलनको पहिलो दिन भदौ २३ को घटनाबारे बयान लिन तयार बसेको जाँचबुझ आयोगलाई धम्क्याउँदै आफूलाई छोए देशै ठप्प पार्न निर्देशन दिए।

तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित हुँदा उनी थप बलियो बनेका छन्। पदाधिकारीमा दुई जना बाहेक सबै आफ्नै प्यानलकाले जितेका छन्। केन्द्रीय सदस्यहरूमा पनि उनलाई अप्ठ्यारो छैन।

पार्टीभित्र जति सहज देखिन्छ, पार्टी बाहिर भने त्यति सहज देखिँदैन उनलाई। जेन-जी पुस्ताले निरन्तर उनलाई भदौ २३ मा मारिएकाहरूको मुख्य दोषीको आरोप निरन्तर लगाइरहेका छन्। रक्षा बमले एमाले महाधिवेशन पारेर पार्टीका महाधिवेशन प्रतिनिधिहरूलाई ओलीको हात जेन-जीको रगतले लत्पतिएको भन्दै नेतृत्वको विकल्प खोज्न आग्रह गरेकी थिइन्।

सुधन गुरुङसहितका जेन-जीका अगुवाहरू पनि ओलीप्रति सकारात्मक छैनन्। तत्कालका लागि निर्णय आफ्नो पक्षमा ल्याए पनि पार्टीभित्र पोखरेल समूह स्थायी गुटको रूपमा उदाएका छन्। त्यसमा सरकार निर्वाचनको तयारीमा लागेको छ।

फागुन २१ मै निर्वाचन भयो भने पार्टीको मुख्य प्रचारक उनै ओली नै हुन्। जेन-जी आन्दोलनपछि एमाले अनि अझ विशेष ओलीप्रति बनेको नकारात्मक धारणा चिर्न उनी सफल नभए जनमत पार्टीमत जस्तो पक्षमा नआउन पनि सक्छ।

तर, बिहीबारको उनको सम्बोधनबाटै उनी जेनजी आन्दोलनका मागलाई सकारात्मक रूपमा स्वीकार गर्ने पक्षमा नभएको सन्देश दिइसकेका छन्। उनी अदालतबाट प्रतिनिधि सभा ब्युँताएर पुन सत्ता आफ्नो पक्षमा ल्याउन चाहन्छन्। त्यसको संकेत पनि उनले बिहीबारै दिइसकेका छन्।

सरकारसँग पार्टीको सम्बन्ध सुधार्ने इच्छा उनमा छैन। उनी सुशीला कार्कीलाई प्रधानमन्त्रीका रूपमा स्विकार्न पनि तयार छैनन्। अध्यक्षको उम्मेदवार भएको बेलामा नै उनले कार्कीलाई नाग पञ्चमीमा गोबरले ढोकामा टाँसेको नागको फोटो जस्तो भनेर हियाइसकेका छन्। बिहीबार उनले कार्कीलाई कि चुनाव गर्ने हैन भने खुरुक्क बाटो लाग्ने भनेर टिप्पणी गरिसके।

उनको सम्बन्ध सुमधुर रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मात्रै हो। देउवा पुसको महाधिवेशनबाट पार्टी नेतृत्वबाट बाहिरिँदै छन्। नेपाली कम्युनिस्ट पार्टीसँग त दुस्मनीकै सम्बन्ध छ। मधेसका दलहरूसँग पनि उनको निकटता देखिन्न अहिले। राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेतृत्व परिवर्तनको अजेण्डा बोकेका नयाँ दललाई उनी देखी सहन्नन्। यसले उनी पार्टीको नेतृत्वमै बसे पनि राष्ट्रिय राजनीतिमा भने एक्लै देखिन्छन्।

सरकार अनि जेनजी दुबैप्रति एमालेको नेतृत्व अनुदार हुने देखिन्छ। राष्ट्रीय पार्टीका नेताहरु संयम नहुने हो भने यसले बढेको द्वन्द्व साम्य हुने भन्दा थप बढ्ने जोखिम देखिन्छ। तर ओलीको व्यवहारले देखाउँछ उनलाई यसमा चासो छैन। उनी विद्रोहको डढेलो निभाउन सहयोगी हैन उल्टो उत्तेजना बढाउने उत्प्रेरक बन्नै सक्रिय हुने संकेत दिइसके। 

पुष ३, २०८२ बिहीबार २१:०९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।