निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री खनाल

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री खनाल

बुटवल : अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन्। 

उनले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिबद्ध भएर आउन राजनीतिक दललाई आग्रह गरे। रुपन्देही उद्योग सङ्घद्वारा बुटवलमा आयोजित राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटन समारोहमा उनले निर्वाचनको अर्को विकल्प सोच्नु देशलाई दुर्घटनामा पार्नु भएको बताए। 

अर्थमन्त्री खनालले राजनीतिक स्थिरता नहुँदा सम्म आर्थिक सूचक राम्रो हुन नसक्ने बताउँदै अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प नभएको बताए।

‘निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्नुको विकल्प छैन, यसका लागि धेरै दलहरू र छिमेकी देशहरू सकारात्मक छन्,’ उनले भने। खनालले अहिले लगानीको वातावरण बन्दै गएको बताए। 

‘कम मूल्यवृद्धि नेपालको इतिहासमा पहिलो पटक हो, यो आम उपभोक्तालाई राहत हो, आर्थिक गतिविधिमा बिस्तार भएको छ, मुद्रा सञ्चिति बढेको छ, वित्तीय सत्तामा पुँजी सञ्चिति बढेको छ तर लगानीको वातावरण भएन, सूचकको आधार हुनुपर्ने थियो,’ उनले भने। 

पुष ३, २०८२ बिहीबार २०:४२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।