विकासले छोडे पलको ‘यानीमाया’, थाले ‘शिरजरा’को काम
काठमाडौं : फिल्म ‘रावायण’पछि अभिनेता पल शाहलाई फिल्ममा नलिने होड चलेको थियो। सोहीबीचमा मुख्य भूमिका रहने फिल्म ‘महाराज धिरज’बाट उनी बाहिरिएका थिए। उक्त फिल्मबाट उनी निकालिएका हुन् वा आफैँ हटेका हुन्, त्यो स्पष्ट नभए पनि लगत्तै पलले आफू महाराजधिराजबाट बाहिरिएको र आफ्नै लगानीमा फिल्म ‘यानीमाया’ निर्माण गर्ने घोषणा गरे।
उनको यस फिल्ममा लेखक विकास सुवेदीले निर्देशन गर्ने सम्झौता भएको थियो। गत वैशाखमा घोषित फिल्मको छायांकन असारदेखि सुरु गर्न भनिएको थियो। साउन ५ गते शुभ मुहूर्त गरिएको फिल्मको वर्कसपका लागि पलसहितको टिम ढोरपाटनसम्म पुगेको थियो। यही फिल्मबाट पलले मोडल अञ्जना पुनलाई अभिनेत्रीका रूपमा डेब्यु गराउने तरखरमा थिए।
तर, सुटिङ सुरु नहुँदै निर्माण पक्ष र निर्देशकबीच खटपट भएको हल्ला चल्यो। अन्ततः करिब ५ महिनापछि लेखक तथा निर्देशक सुवेदी यो टिमबाट बाहिरिएका छन्। ‘यानीमाया’ छाडेसँगै उनले नयाँ फिल्म ‘शिरजरा’ निर्देशनको घोषणा गरेका छन्।

उकेरासँगको कुराकानीमा उनले आफू एक वर्षदेखि निर्माण हुन लागेको फिल्म ‘शिरजरा’मा लागेको बताए। अब यानीमाया के हुन्छ भन्ने प्रश्नमा सुवेदीले भने, ‘त्यो उहाँहरूले नै बनाउनु हुन्छ। म यता एक वर्षदेखि शिरजराको तयारीमा छु।’
आगामी फेब्रुअरीदेखि बेलायतबाट छायांकन हुने यो फिल्मलाई नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्म्सको संयुक्त सहकार्यमा निर्माण हुन लागेको हो। यस फिल्मको निर्माताका रूपमा सुभाष भुसाल हुन्।
निर्माता भुसालले यसअघि मल्टीस्टारर फिल्म ‘पूजार सार्की’ निर्माण गरेका थिए। यस फिल्ममा कलाकार तथा प्राविधिक पक्षको टुङ्गो लागेको छैन। मेटा-मोर्डन फिलोसोफिकल ड्रामा भनिएको यो फिल्मको यति बेला प्रि-प्रोडक्सनको काम भइरहेको छ।
निर्देशक बाहिरिएपछि पल शाहले घोषणा गरेको फिल्म ‘यानीमाया’बन्छ भन्दैन भन्ने कुरामा अन्योलता देखिन्छ। अभिनेताबाट निर्मातामा हाफ फाल्न खोजेका उनलाई सुरुवातमै धक्का लागेको देखिन्छ। यद्यपि, उनी अभिनीत फिल्म ‘आ बाट आमा’ माघ १६ गतेबाट प्रदर्शनको तयारीमा छ।
पुष ३, २०८२ बिहीबार १६:५१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।