झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
काठमाडौं : झुट्टा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन्। झुट्टा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
काठमाडौंबाट दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकबल गाउँपालिका-३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका-९ का ४१ वर्षीय सूर्यबहादुर खड्का पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
झुट्टा विवरण पेस गरेर नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउने कार्यमा संलग्न निजहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। निजहरूलाई नागरिकता, लिखत किर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएको छ।
पुष ३, २०८२ बिहीबार १४:२७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।