अमेरिकामा दुई नेपाली युवक पक्राउ : एउटामाथि २ लाख ६८ हजार डलर ठगीको आरोप, अर्का अन्तर्राष्ट्रिय बाल शोषण गिरोहमा

अमेरिकामा दुई नेपाली युवक पक्राउ : एउटामाथि २ लाख ६८ हजार डलर ठगीको आरोप, अर्का अन्तर्राष्ट्रिय बाल शोषण गिरोहमा

काठमाडौं : अमेरिकामा रहेका दुई नेपाली युवक गम्भीर प्रकृतिका छुट्टाछुट्टै अपराधमा पक्राउ परेका छन्।

एक जना वृद्ध दम्पतीलाई ठगी गरेको आरोपमा र अर्का अन्तर्राष्ट्रिय बाल यौन शोषण सञ्जालमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन्।

अमेरिकाको टेनेसी राज्यस्थित पुटनाम काउन्टीमा एक ७० वर्षीय वृद्ध दम्पतीलाई ठगी गरेको आरोपमा ३० वर्षीय नेपाली युवक तुल्सी तिम्सिना पक्राउ परेका छन्। नासभिलमा बस्दै आएका तिम्सिना ग्रिन कार्ड होल्डर हुन्।

प्रहरीका अनुसार यो ठगी काण्ड गत सेप्टेम्बर १९ मा सुरु भएको थियो। पीडितको कम्प्युटरमा माइक्रोसफ्टको जस्तै देखिने ‘पप-अप अलर्ट’ आयो, जसमा कम्प्युटर ह्याक भएको भन्दै एउटा नम्बरमा फोन गर्न भनिएको थियो। पीडितले बैंक ठानी फोन गर्दा उनीहरूको खाताबाट बाल अश्लील सामग्रीको अनुसन्धान भइरहेको र खाता फ्रिज हुनबाट जोगिन पैसा झिक्न भनियो।

ठगहरूको जालोमा फसेका ती दम्पतीले अक्टोबरदेखि नोभेम्बर ५ सम्म पटक-पटक गरी कुल २ लाख ६८ हजार २२९ डलर झिकेका थिए। उनीहरूलाई सुनका सिक्का किन्न लगाएर घरमै मान्छे पठाएर उक्त सुन लिन लगाइएको थियो।

सुन लिन आएका व्यक्ति र उनको गाडीको फोटो पीडितका श्रीमानले खिचेका थिए। सोही फोटोको आधारमा प्रहरीले तिम्सिनालाई पहिचान गरी पक्राउ गरेको हो। उनलाई ज्येष्ठ नागरिकको आर्थिक शोषण गरेको अभियोग लगाइएको छ र २ लाख डलर धरौटी तोकिएको छ।

यस्तै अर्को घटनामा, अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने २० वर्षीय प्रसन नेपाल उर्फ ट्रिप्पी अन्तर्राष्ट्रिय बाल यौन शोषण सञ्जाल ‘७६४’ मा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। उनीसँगै ग्रीसबाट २१ वर्षीय अमेरिकी नागरिक लियोनिडास वारागियानिस उर्फ वार पनि पक्राउ परेका छन्।

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार ‘७६४’ एउटा हिंसात्मक अतिवादी अनलाइन सञ्जाल हो। यसले इन्क्रिप्टेड एपहरू प्रयोग गरेर नाबालिगहरूलाई ब्ल्याकमेल गर्ने, मानसिक यातना दिने, र अमानवीय यौन क्रियाकलापमा बाध्य पार्ने गरेको पाइएको छ।

प्रसन नेपालले ‘७६४ इन्फर्नो’ नामक उपसमूहको नेतृत्व गर्दै बालबालिकाको शोषण गरेको र त्यस्ता भिडियो उत्पादन तथा वितरण गरेको आरोप छ।

सन् २०२० देखि २०२५ सम्म सक्रिय यो गिरोहले १३ वर्षसम्मका बालबालिकालाई निशाना बनाएको अनुसन्धानमा खुलेको छ। दोषी ठहर भएमा उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने अमेरिकी अधिकारीहरूले जनाएका छन्।

पुष ३, २०८२ बिहीबार १०:१६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।