हुम्लाको सर्केगाडमा घरमाथि ढुङ्गा खस्दा ४ जना घाइते

हुम्लाको सर्केगाडमा घरमाथि ढुङ्गा खस्दा ४ जना घाइते

अदानचुली : हुम्लाको सर्केगाड गाउँपालिका-४ स्थित सर्केगाड बजारमा भिरबाट खसेको ढुङ्गा घरमा लाग्दा चार जना घाइते भएका छन्।

गएराति स्थानीय दनबहादुर रावतको दुई तले कच्ची घरमा माथिको वनबाट अचानक ढुङ्गा खसेको थियो। ढुङ्गाले घरमा क्षति पुर्याउँदा कोठा भाडामा लिएर बस्दै आएका व्यक्तिहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

घाइते हुनेमा सर्केगाड-८ राहदेउ घर भई हाल सर्केगाड बजारमा बस्दै आएका सुन्दरलाल विककी २८ वर्षीया श्रीमती सरिता विक, सर्केगाड-४ रायागाउँकी २१ वर्षीया लालसरा विक, लालसराकी ६ वर्षीया छोरी रेविका र सर्केगाड-८ की प्रवीणा विक रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शङ्कर खड्काका अनुसार घाइतेमध्ये सरिता विकको अवस्था मध्यम रहेको छ। उनको दाहिने गाला र हातमा चोट लागेको छ।

स्थानीय साया स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको छ।

टाउको र निधारमा सामान्य चोट लागेका अन्य तीन जना भने स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

सर्केगाड बजारमाथिको वन क्षेत्र भिरालो र चट्टानी भएकाले उक्त बस्ती ढुङ्गा खस्ने उच्च जोखिममा रहेको छ। यसअघि पनि सो स्थानमा पटक-पटक ढुङ्गा खस्ने गरेको स्थानीय प्रकाश शाहीले जानकारी दिए।

पुष २, २०८२ बुधबार १४:५७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।