एमाले महाधिवेशन : डेढ घण्टा ढिलो गरी मतदान सुरु, ओली र पोखरेललाई भोट हाल्न ४० मिनेट लाग्यो

एमाले महाधिवेशन : डेढ घण्टा ढिलो गरी मतदान सुरु, ओली र पोखरेललाई भोट हाल्न ४० मिनेट लाग्यो

काठमाडौं : एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अन्ततः मतदान सुरु भएको छ।

भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि करिब डेढ घण्टाको विलम्बपछि मात्र मतदान प्रक्रिया अघि बढेको हो।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली मतदानस्थल पुगेलगत्तै उनी र अर्का अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पहिलो भोट खसालेर मतदानको शुभारम्भ गरेका थिए।

बिहान ९ बजेसम्म ओली नआउँदा मतदान सुरु हुन सकेको थिएन, तर पोखरेल भने पहिले नै मतदानस्थल पुगिसकेका थिए।

एमालेको नयाँ नेतृत्व चयनका लागि ८०  वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ। तर, मतदान प्रक्रिया केही सुस्त देखिएको छ।

प्राविधिकहरूका अनुसार अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न करिब ४० मिनेट समय लागेको छ।

त्यस्तै, महासचिवका उम्मेदवारहरू शंकर पोखरेल र सुरेन्द्र पाण्डेले पनि मतदानका लागि त्यति नै समय खर्चेका छन्।

शीर्ष नेताहरूले मतदान सुरु गरेपछि महाधिवेशन प्रतिनिधिहरू लामबद्ध भएर पालो कुरिरहेका छन्। उम्मेदवारहरू लाइनमै पुगेर प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।

मत माग्ने क्रममा रोचक दृश्यहरू पनि देखिएका छन्। केन्द्रीय सदस्यका उम्मेदवार तुलसी न्यौपानेले आफ्नो नामसँग मिल्ने पवित्र 'तुलसीको बोट' नै हातमा बोकेर लाइनमा बसेका मतदाताहरूसँग भोट मागेका छन्।

यसअघि मंगलबार नै मतदान गर्ने कार्यतालिका भए पनि विद्युतीय मेसिनमा देखिएको प्राविधिक समस्याका कारण मतदान स्थगित गरिएको थियो।

मंगलबार साँझ अबेरसम्म लाइनमा बसेका मतदाताहरूलाई राति ८ बजेपछि मात्र भोलि मतदान हुने भन्दै फर्काइएको थियो।

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।

पुष २, २०८२ बुधबार १०:१७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।