चुनाव प्रचारमा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने!

चुनाव प्रचारमा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने!

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसारलाई व्यवस्थित र मर्यादित बनाउन नयाँ आचारसंहिता प्रस्ताव गरेको छ।

आयोगले चुनाव प्रचारका क्रममा हुने भड्किलो प्रदर्शन रोक्न जुलुस तथा सभाहरूमा १० वटा मात्रै झण्डा प्रयोग गर्न पाइने प्रस्ताव अघि सारेको हो।

आयोगको प्रस्तावित आचारसंहिता अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न पाइने छैन।

दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने उद्देश्यले यस्तो कडाइ गर्न लागिएको आयोगले जनाएको छ।

प्रस्तावित आचारसंहितामा उम्मेदवार वा दलको कार्यालयमा ३×४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह भएको बोर्ड राख्न पाइनेछ। तर, प्रचारप्रसार गर्ने उद्देश्यले डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न पाइने छैन।

कार्यक्रम स्थलमा भने दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटा मात्रै तुल वा फ्लेक्स राख्न अनुमति दिइने प्रस्ताव छ। साथै, झण्डा वा चुनाव चिन्हको तोरण बनाएर सार्वजनिक प्रदर्शन गर्न समेत रोक लगाइएको छ।

निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा भीडभाड कम गर्न उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लान नपाइने प्रस्ताव गरिएको छ। यस्तै, प्रचारमा जाँदा बाजागाजा तथा झाँकी प्रदर्शन गर्न पाइने छैन।

चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, रिक्सा, टाँगा वा ठेलागाडा जस्ता सवारी साधन प्रयोग गरी र्याली निकाल्न नहुने गरी आचारसंहिता प्रस्ताव गरिएको छ। भित्तेलेखन गर्न वा गराउन पनि पूर्ण रूपमा बन्देज लगाइनेछ।

अनलाइन, वेबपेज, टिभी स्क्रोलिङ, सपिङ मलका डिस्प्ले, बैंकका एटिएम, र कल सेन्टरमार्फत उम्मेदवारको प्रचारप्रसार गर्न पाइने छैन।

सडक नाटकजस्ता माध्यममा पनि रोक लगाइएको छ। तर, राजनीतिक दल वा उम्मेदवारले आफ्नो एउटा निजी र आधिकारिक वेबपेजमा भने प्रचार सामग्री राख्न पाउनेछन्।

आयोगले निर्वाचनलाई स्वच्छ, शान्त, कम खर्चिलो र मर्यादित बनाउने उद्देश्यले यी बुँदाहरू समेटेर आचारसंहिता प्रस्ताव गरेको जनाएको छ।

पुष २, २०८२ बुधबार ०७:४९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।