यतीबाट घर घुस पाएका राजेश बज्राचार्यलाई पक्राउ गर्न अनेरास्वीयूको माग

यतीबाट घर घुस पाएका राजेश बज्राचार्यलाई पक्राउ गर्न अनेरास्वीयूको माग

काठमाडौं : दरबारमार्गस्थित नेपाल ट्रस्टको सरकारी जग्गा भाडा प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य प्रत्यक्ष रूपमा संलग्न रहेको प्रमाण सार्वजनिक भएसँगै नेपाली कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनले यसमा ओलीको संलग्नताबारे समेत छानबिन गर्न माग गरेको छ।

अनेरास्ववियूले विज्ञप्तिमार्फत् बज्राचार्यले भक्तपुरस्थित रोजभिलेज हाउजिङमा घर घुस लिएको प्रमाण बाहिर आउनु राज्य संयन्त्रकै दुरुपयोगको ज्वलन्त उदाहरण भएको भन्दै गोकर्ण रिसोर्ट, तहाचल र चितवनस्थित नेपाल ट्रस्टको जग्गासमेत नियम विपरीत लिजमा दिइनु सत्ताको दुरुपयोग गरी भ्रष्टाचार गरेको गम्भीर आर्थिक अपराध भएको उल्लेख गरेको छ।

गोकर्ण रिसोर्टको लिज अवधि नसकिँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष संरक्षणमा २०७६ देखि २०५० सालसम्मका लागि लिज अवधि थप गर्दा खुला लुट र शक्ति दुरुपयोग भएको विज्ञप्तिमा दाबी गरिएको छ।

उसले यो भ्रष्टाचार स्वकीय सचिवमा मात्र सीमित नभएको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली स्वयं यस घोटालाका मुख्य जिम्मेवार पात्र रहेको भन्दै उनलाई समेत तत्काल छानबिनको दायरामा ल्याउन माग गरेको छ। 

“हामीले यो लिज घोटाला भएको भन्दै त्यही समयमा आवाज उठाएका थियौ, तर त्यसबेला सत्ताको दम्भमा हाम्रो आवाज दबाउने प्रयास गरियो। आज सार्वजनिक भइरहेका प्रमाणहरूले अनेरास्ववियुको भनाइ सत्य साबित भएको छ” विज्ञप्तिमा भनिएको छ।

अनेरास्ववियूले बज्राचार्यलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन र यस प्रकरणमा संलग्न सबैलाई पद, हैसियत र पहुँचको कुनै पनि बहाना नस्विकारी-तुरुन्त छानबिनमा ल्याउन माग गरेको छ।

के हो प्रकरण ?

यती समूहको कम्पनीले दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा भाडामा लिँदा अनियमितता भएकोबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान अगाडि बढाउँदै २ जनालाई पक्राउ गरेको थियो। अनुसन्धानकोक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यको श्रीमतीको नाममा यतीको तारा एयर प्रालीको नाममा बालकोटमा रहेको हाउजिङको घर जग्गा नामसारी भएकोबारे उकेराले सोमबार समाचार प्रकाशित गरेको थियो।

सिआइबीको अनुसन्धानमा सो घर बज्राचार्यको श्रीमतीको नाममा पास भएको र मालपोतमा ९६ लाख मुल्यांकन गरेर जग्गा पास भए पनि बज्राचार्य र उनको श्रीमतीले त्यस बापत तारा एयरलाई पैसा भुक्तानी गरेको नखुलेपछि सो घरजग्गा यतीलाई बदनियतपूर्ण रुपमा नेपाल ट्रस्टको जग्गा भाडामा मिलाइदिए वापतको घुस रहेको सिआइबीको निष्कर्ष थियो।

सोही निष्कर्ष अनुसार सीआइबीले अनुसन्धानको प्रस्तावित राय सुझाव जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पठाए पनि कार्यालयले अभियोग भने लगेको छैन। गत विहिबारै प्रस्तावित राय सरकारी वकिलको कार्यालयमा पुगे पनि मुद्दा दायर भएको छैन। 

सम्बन्धित समाचार

पुष १, २०८२ मंगलबार १९:५२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।