परीक्षण भइसकेको नेतृत्वले अब चमत्कारिक परिणाम ल्याउन सक्दैन : भट्टराई
काठमाडौं : एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पटक-पटक परीक्षण भइसकेको नेतृत्वबाट अब कुनै चमत्कारिक परिणामको अपेक्षा गर्न नसकिने बताएका छन्।
महाधिवेशन स्थलमा मंगलबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जीवन्त राख्न र जनविश्वास फर्काउन नेतृत्वमा नयाँपनको आवश्यकता औँल्याए।
'पटक-पटक परीक्षा दिएको र अवसर पाएको नेतृत्वले अब फेरि अर्को कुनै चमत्कारिक परिणाम ल्याउन सक्दैन,' भट्टराईले भने, 'त्यस कारण मुख्य तीन वटै दलमा नयाँ नेतृत्वबाट पार्टीलाई अपडेट गर्नुपर्छ भन्ने सन्देश यो महाधिवेशनले दिनुपर्छ।'
उनले ‘डिट्रयाक’ भएको संविधानलाई सही बाटोमा ल्याउन, अवरुद्ध संसद् खुलाउन र राजनीतिक दलहरूप्रति गुम्दै गएको जनविश्वास पुनःस्थापित गर्न एमाले महाधिवेशन कोसेढुंगा हुनुपर्नेमा जोड दिए।
महाधिवेशन नियमित कार्य तालिकाभन्दा अगाडि हुनुमा भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रम मुख्य कारण रहेको उल्लेख गर्दै उनले महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नभई विगतमा घटेका घटनाहरूको वस्तुनिष्ठ समीक्षा गर्ने थलो समेत भएको बताए। पार्टीभित्रका कमजोरी र सबल पक्षहरूलाई केलाउँदै अघि बढ्नुपर्नेमा भट्टराईले जोड दिए।
'हाम्रा कमजोरी के छन् र असल पक्ष के थिए, त्यसलाई केलाउनुपर्ने छ,' उनले थपे, 'यो महाधिवेशनले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै बाँकी उपलब्धिको निम्ति पार्टीलाई अझ सशक्त ढंगले अगाडि बढाउनेछ।'
पुष १, २०८२ मंगलबार १६:४९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।