विधि र पद्धतिमा आधारित एकतामा जोड दिँदै विष्ट भने : 'दुई कार्यकाल'को विधि उल्ट्याइनु हुन्नथ्यो

विधि र पद्धतिमा आधारित एकतामा जोड दिँदै विष्ट भने : 'दुई कार्यकाल'को विधि उल्ट्याइनु हुन्नथ्यो

काठमाडौं : एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार गोकर्ण विष्टले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई निषेध गरेर गरिने एकता टिकाउ नहुने बताएका छन्। महाधिवेशनको सन्दर्भमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले 'लोकतान्त्रिक अभ्यास नभए मात्र पार्टी एकजुट हुन्छ' भन्ने भाष्य पूर्णतः गलत रहेको र त्यसमा आफूले विश्वास नगर्ने स्पष्ट पारे।

विष्टले विधि र पद्धतिमा आधारित एकतामा जोड दिँदै भने, 'एकता भावनात्मक मात्र भएर पुग्दैन, यो पद्धति र विधिमा आधारित हुनुपर्छ। पार्टीलाई बलियो बनाउने भनेकै भावना र विधिद्वारा हो।' लोकतान्त्रिक प्रतिस्पर्धालाई हार र जितको प्राविधिक विषय मात्र नबनाई पार्टी सशक्तीकरणको माध्यम बनाउनुपर्नेमा उनको जोड छ।

नेतृत्व चयनपछि विभेदको राजनीति हुन नहुने उनको भनाई छ। 'प्रतिस्पर्धाका आधारमा कसैलाई टाढा र कसैलाई नजिक देख्न थालियो, विभेद र पक्षपातपूर्ण व्यवहार हुन थाल्यो भने त्यसले पार्टी पंक्तिमा ऊर्जा र गतिशीलता दिँदैन,' विष्टले भने, 'जित्नेले हार्नेलाई समेटेर लैजाने र हार्नेले जित्नेलाई सहयोग गर्ने परिपाटीले नै पार्टीभित्र स्वस्थ लोकतान्त्रिक अभ्यास स्थापित हुन्छ।'

पार्टीभित्र नेतृत्व हस्तान्तरण र रूपान्तरणको बहस पेचिलो बनिरहँदा उनले 'दुई कार्यकाल'को प्रावधान हटाएको प्रति असन्तुष्टि व्यक्त गरे। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा ल्याएको लोकतान्त्रीकरणको उक्त प्रस्ताव विधान महाधिवेशनबाट उल्ट्याइएको स्मरण गर्दै उनले त्यो विधि अहिले पनि लागू हुनुपर्नेमा जोड दिए।

'हामीले त दुई कार्यकालको कुरा उठाएका थियौं, अध्यक्षले नै त्यसको अगुवाइ गर्नुभएको थियो,' उनले भने, 'यद्यपि विधान महाधिवेशनले त्यसलाई उल्टायो। तर, हाम्रो मान्यता नेतृत्व हस्तान्तरण र रूपान्तरण हुनुपर्दछ भन्ने नै हो।'

विष्टले महाधिवेशनलाई केवल औपचारिकतामा सीमित नराखी एमालेलाई थप सशक्त, गतिशील र एकताबद्ध बनाउने उद्देश्यका साथ सफल पार्नुपर्ने बताए। स्वस्थ र मर्यादित भावनाका साथ लोकतान्त्रिक अभ्यास सम्पन्न गर्न उनले प्रतिनिधिहरूमा आह्वान गरे।

पुष १, २०८२ मंगलबार १५:३७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।